पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाका विभिन्न वडाका किसानहरुलाई सीपप्रविधि सिकाई कृषि पेशामा व्यवसायिक बनाउने उद्देश्यले हातेट्याक्टर मर्मत तालिम दिइएको छ ।
पालिकाको ८ वटा वडाका विभिन्न क्षेत्रबाट आएका किसानलाई निशुल्क वितरण गरिएको हाते ट्याक्टरको प्रयोगमा सहज होस भनेर तालिम दिइएको पालिका अध्यक्ष यम बहादुर चिदीले र।ानीमहललाई बताउनुभयो । पालिकाले ४ वर्षको अवधिमा करिब ३ सय बढी किसानलाई हातेट्याक्टर वितरण गरेको र हातेट्याक्टरको प्रयोगमा आउने प्राविधिक समस्याको बारेमा समेत सहजताहोस् भनेर तालिम दिइएको चिदीको भनाइ छ ।
प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि ) अन्तर्गत कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको आयोजना तथा माथागढी गाउँपालिकाको सहकार्य र समन्वयमा पावर टिलर मर्मत तालिम दिइएको हो ।
३९० घण्टा (६५ दिने) उक्त तालिमको समापन सत्रमा प्रमुख अतिथि माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले प्राविधिक शिक्षाको महत्वलाई जोड दिँदै स्थानीय तहमा सीपमूलक तालिमले रोजगारी सिर्जना गर्नुका साथै युवाहरुलाई आत्मनिर्भर बनाउने बतानुभयो ।
यस्ता कार्यक्रमले गाउँपालिकाको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने उल्लेख गर्दै आगामी दिनमा समेत यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम ३ नं. वडा कसेनी वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक तेज बहादुर घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष मगरले तालिमले प्रशिक्षार्थीहरुलाई व्यवहारिक ज्ञान र सीप प्रदान गरेको उल्लेख गर्दै सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । साथै यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका युवाहरुलाई नयाँ अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम शिक्षालय प्रमुखको सञ्चालनमा भएको थियो भने जिल्ला समन्वय सदस्य केश मय सुनार, मदनपोखरा बहुप्राविधिक शिक्षालय प्रमुख प्रदिप पाण्डे, प्रशिक्षक लगायतको आतिथ्यता तथा सम्पूर्ण प्रशिक्षार्थीहरुको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रमको अवसरमा प्रशिक्षार्थीहरु तथा प्रशिक्षकहरुलाई सम्मान पत्र तथा प्रमाण पत्र वितरण समेत गरिएको थियो ।
गाउँपालिकाले किसानहरुलाई व्यवसायिक बनाउनको लागि हातेट्याक्टर, विउ, प्लाष्टिक टनेल, मल्चिंग लगायतका कृषि उपकरण र औजारहरु प्रदान गर्दै आएको छ । यस्तै किसानलाई उत्पादनमा आधारित अनुदान समेत प्रदान गर्दै आएको पालिकाले जनाएको छ । पालिकाले वडा नं. १, २,३ लाई तरकारी पकेट क्षेत्र, ४ लाई काफल र खुर्सानी पाकेट क्षेत्र ५ लाई दालचिनी, ६,७, ८ मा समेत कृषि र पशुपालनको कार्यक्रमहरुमा सहयोग गर्दै आएके जनाएको छ ।



