Search
शुक्र, असार ५, २०८३

नीति कार्यक्रमबारे बगनासकालीको सुझाव माग

पाल्पा– जिल्लाको बगनासकाली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेटको सम्बन्धमा सुझाव संकलन गरेको छ । कार्यक्रममा अध्यक्ष सरस्वती चिदीले पालिकाले जनमुखी, व्यावहारिक र प्रभावकारी बनाउने गरी नीति कार्यक्रम ल्याउन सुझाव संकलन गरेकाे बताउनुभयो । उहाँले पालिकाको विकासको लागि आगामी कार्यदिशा तय गर्ने राजनीतिक दल, स्थानीय सञ्चारकर्मी र जनप्रतिनिधिहरूबीच एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सुझाव संकलन गरेको छ ।

 

गाउँपालिकाले समावेशी र लोकतान्त्रिक पद्धतिबाट बजेट निर्माण गर्ने प्रयास स्वरूप एक महिना अगाडि नै डिजिटल माध्यमबाट सार्वजनिक रूपमा सुझाव माग गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेयले आधुनिक प्रविधिको उपयोग गर्दै डिजिटल माध्यमबाट योजनाहरू संकलन गरिएको जानकारी दिनुभयो ।

पालिकाले नीति कार्यक्रमसम्बन्धी अन्तरक्रियामा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले बगनासकाली धार्मिक र ऐतिहासिक पर्यटकीय क्षेत्र भएकाले आगामी बजेटमा धार्मिक पर्यटनको प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । पत्रकार कृष्ण पोखरेलले सिद्धार्थ राजमार्ग क्षेत्रमा सार्वजनिक खानेपानीको धारा र शौचालयको उचित व्यवस्थापन गर्न माग गर्नुभयो ।

पत्रकार मिलन विकले गरिब तथा विपन्न वर्गका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न र बजेटलाई महोत्त्वाकांक्षी नबनाई कार्यान्वयन हुन सक्ने आकारको मात्र बनाउन सुझाव दिनुभयो । यस्तै पत्रकार नेत्र गैरेले ग्रामीण सडकहरूको दीर्घकालीन सुरक्षा र मर्मतका लागि ’लेन्थवर्कर’ को व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । स्थानीयबासी हरी भट्टराईले विद्यालयहरूलाई गाभेर गुणस्तरीय शिक्षा प्रदान गर्न र स्थानीय मदिराको ब्रान्डिङका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

 

नेकपा एमालेका नेता डेन्जिङ रायमाझीले लगानीको क्षेत्र स्पष्ट हुनुपर्ने र ग्रामीण सडकहरूको अवस्था सुधार गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी, नेपाली काँग्रेसका नेता यमलाल तिमिल्सेनाले ग्रामीण क्षेत्रका बस्तीहरू रित्तिँदै गएको र खेतबारी बाँझो हुने खेती गरेपनि बाँदरले सताउने गरेको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठकले बगनासकालीको भविष्य सुन्दर रहेको चर्चा गर्दै अझै धेरै काम गर्न बाँकी रहेको र निर्माणाधीन १५ शैयाको अस्पताल आगामी असार मसान्तभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले प्राप्त सुझावहरू अत्यन्तै महत्वपूर्ण र मार्गदर्शक रहेको बताउनुभयो ।

 

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।