नवराज पन्थी
माथागढी, पाल्पा । माथागढी गाउँपालिका वडा नं. ४ को झडेवा फाँटमा निर्माण सम्पन्न भएको पुल तथा कल्भर्टले स्थानीयवासीको आवागमनलाई सहज बनाएको छ। लामो समयदेखि दलदले भूभाग र खोलाका कारण आवतजावतमा समस्या भोग्दै आएका स्थानीयले अब सहज रूपमा आवागमन गर्न पाउने भएका छन्।
नवनिर्मित पुलमार्फत गाउँपालिकाको निर्माणाधीन नयाँ प्रशासनिक भवन, मामा हाउस रेस्टुरेन्ट हुँदै झडेवाको मुख्य क्षेत्रमा सवारीसाधन तथा पैदलयात्रीले सहज रूपमा आवतजावत गर्न सक्ने भएका छन्। पुल निर्माण भएपछि स्थानीय बासिन्दा, सेवाग्राही तथा विद्यार्थीहरूलाई विशेष राहत पुगेको बताइएको छ।
वडा अध्यक्ष शंकर दर्लामी का अनुसार पुल निर्माणका लागि स्थानीय समाजसेवी फन बहादुर दर्लामी ले निःशुल्क तीन आनाभन्दा बढी जग्गा उपलब्ध गराएका थिए। उहाँको सहयोगपछि झडेवा खोलाको दलदले क्षेत्रमा कल्भर्टसहित पुल निर्माण कार्य अघि बढाइएको वडा अध्यक्ष दर्लामीले जानकारी दिनुभयो।

माथागढी गाउँपालिकाको २५ लाख रुपैयाँ बजेटको सहयोगमा निर्माण सम्पन्न भएको उक्त योजनाले स्थानीय पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। पुल निर्माणसँगै गाउँपालिकाको प्रशासनिक केन्द्रतर्फको पहुँच सहज बनेको छ भने आसपासका बस्तीका नागरिकलाई दैनिक कामकाजका लागि यात्रा गर्न समेत सुविधा पुगेको छ।

स्थानीयवासीहरूले पुल निर्माणले वर्षायाममा हुने जोखिमपूर्ण यात्रा अन्त्य भएको बताएका छन्। यसअघि वर्षाको समयमा खोलामा पानी बढ्दा आवतजावतमा कठिनाइ हुने गरेको थियो। अहिले भने सुरक्षित र सहज रूपमा यात्रा गर्न सकिने अवस्था बनेको उनीहरूको भनाइ छ।
स्थानीयको सहयोग र गाउँपालिकाको लगानीबाट सम्पन्न भएको यो पूर्वाधारले झडेवा क्षेत्रको समग्र विकासमा टेवा पुग्नुका साथै भविष्यमा व्यापार, सेवा प्रवाह तथा प्रशासनिक पहुँच विस्तारमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।




