पाल्पा- महिलाहरूलाई सीपयुक्त बनाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यसहित माथागढी गाउँपालिकाले सञ्चालन गरेको एडभान्स सरफ निर्माणसम्बन्धी तीन दिने सीप विकास तालिम सम्पन्न भएको छ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत आयोजित तालिमले स्थानीय महिलाहरूलाई उद्यमशीलता र स्वरोजगारतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ। माथागढी गाउँपालिका वडा नं. ३ मा सञ्चालन गरिएको तालिममा सहभागी महिलाहरूलाई वासिङ मेसिनमा प्रयोग हुने एडभान्स सरफ उत्पादनसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
तालिमका क्रममा सरफ निर्माणमा आवश्यक कच्चा पदार्थको छनोट, मिश्रण विधि, गुणस्तर कायम गर्ने उपाय, प्याकेजिङ तथा बजारीकरणका आधारभूत पक्षबारे जानकारी गराइएको थियो। सहभागीहरूले प्रत्यक्ष रूपमा सरफ उत्पादन गरी अभ्याससमेत गरेका थिए। तालिमको समापन कार्यक्रम वडा नं. ३ का वडा अध्यक्ष तेजबहादुर घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्यहरू, वडा कार्यालयका कर्मचारी, प्रशिक्षक, टेन स्टार सरफ उद्योगका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो। समापन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष घर्ती मगरले सीपमूलक तालिमले महिलाहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर आयआर्जनमूलक गतिविधिमा संलग्न हुन सहभागीहरूलाई आग्रह गर्नुभयो। स्थानीय स्रोत, सीप र श्रमको सदुपयोग गर्दै साना तथा घरेलु उद्योग सञ्चालन गर्न सके आत्मनिर्भर बन्न सहज हुने उहाँको भनाइ थियो। कार्यक्रममा उपस्थित अन्य अतिथिहरूले पनि सीप विकाससँगै उद्यमशीलताको विस्तार आवश्यक रहेको औँल्याउँदै यस्ता तालिमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न मद्दत पुग्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले महिलाहरूलाई उत्पादनसँगै बजारीकरणमा समेत ध्यान दिन सुझाव दिएका थिए।

मेडपा कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त तालिमले सहभागी महिलाहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै स्वरोजगारको नयाँ सम्भावना सिर्जना गरेको विश्वास लिइएको छ। कार्यक्रमको सञ्चालन मेडपा सहजकर्ता बिन्दु नेपालीले गर्नुभएको थियो।





