-नबराज पन्थी माथागढी गाउँपालिकाको कला, संस्कृति तथा मौलिक पहिचानको संरक्षण, संवर्द्धन तथा स्थानीय प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजित ‘दोस्रो माथागढी लोक नृत्य तथा लोक स्टार २०८३ तथा वृहत् सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ।
माथागढी गाउँपालिकाको आर्थिक सहयोग तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा पाल्पा को समन्वयमा आयोजित प्रतियोगिताको फाइनल चरणमा स्थानीय गायन तथा नृत्य प्रतिभाबीच कडा प्रतिस्पर्धा देखिएको थियो।
प्रतियोगितामा गायनतर्फ २३ जना तथा नृत्यतर्फ ३१ जना प्रतिभागी सहभागी भएका थिए। विभिन्न चरण पार गर्दै उत्कृष्ट प्रतिस्पर्धीहरू फाइनल चरणमा पुगेका थिए, जहाँ उनीहरूले आफ्नो कला र क्षमता प्रस्तुत गरेका थिए। लोक स्टार (गायन) प्रतियोगितातर्फ वडा नं. ५ का टेक बहादुर खाम्चा प्रथम, वडा नं. ४ की रेखा सारु द्वितीय तथा वडा नं. ८ का हुम बहादुर बारघरे तृतीय हुन सफल भए। त्यसैगरी लोक नृत्यतर्फ वडा नं. २ की मिश्मा सारु प्रथम, वडा नं. ५ की करिश्मा रिङजाली द्वितीय तथा वडा नं. ३ की सिमरन घर्ती मगर तृतीय घोषित भइन्।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल सहभागी हुनुभएको थियो। त्यस्तै नेपाली लोक संगीत क्षेत्रका चर्चित लोकगायक नारायण रायमाझी विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, उपाध्यक्ष विष्णुमाया लुङ्चे तथा प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ लगायत जनप्रतिनिधि, विभिन्न वडाका वडाध्यक्ष, आमा समूह, क्लबका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमअघि झडेवा बजार क्षेत्रमा सांस्कृतिक र्याली समेत निकालिएको थियो, जसले बजार क्षेत्रलाई उत्सवमय बनाएको थियो। स्थानीय कला, संस्कृति र मौलिक पहिचानलाई जोगाउँदै गाउँ–समाजमा लुकेर रहेका प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले नयाँ कलाकार जन्माउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
फाइनल प्रतिस्पर्धा अवलोकन गर्न कार्यक्रम स्थलमा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने सहभागीहरूको प्रस्तुतीले सबैको मन जितेको थियो। माथागढी गाउँपालिकाले सञ्चालन गरेको यस प्रकारको सांस्कृतिक अभियानले स्थानीय लोककला संरक्षणसँगै नयाँ पुस्तामा आफ्नै संस्कृति र परम्पराप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो।




