पाल्पामा कुपोषित हुने बालबालिकाको सङ्ख्या हरेक वर्ष बढ्दो छ । स्वास्थ्य कार्यालय पाल्पाले अघिल्लो वर्ष जिल्लाभर २८ जना बालबालिकामा कडा खालको कुपोषण देखिएकोमा आव २०८१/८२ मा बढेर ४१ जनामा कडा खालको कुपोषण पुष्टि भएको जनाएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले जिल्लाको १० पालिकाभित्रका १० देखि १८ वर्ष उमेरका बालबालिकामा गरिएको जाँचबाट कडा कुपोषित हुने बालबालिकाको सङ्ख्या बढ्दै गएको बताउनुभयो । पोखरेलले जिल्लामा मध्यम खालको कुपोषण हुने बालबालिकाको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको बताउनुभयो ।
अघिल्लो वर्षमा १२९ जना बालबालिकामा मध्यम खालको कुपोषण देखा परेको थियो । आव २०८१/८२ मा बढेर मध्यम खालको कुपोषण हुने बालबालिकाको सङ्ख्या १८४ पुगेको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय पाल्पाले गत आव २०८१/८२ मा जिल्लाभरका आठ हजार ७२९ जना बालबालिकामा कुपोषण भए नभएको जाँच गरेको थियो । त्यसमध्ये बालकको तुलनामा बालिका र सहरी क्षेत्रका बालबालिका कुपोषित बढी छन् ।
कडा खालको कुपोषित हुने अधिकांश बालबालिका तानसेन रामपुर नगरपालिकाका रहेका छन् । यस्तै मध्यम खालको कुपोषण देखिने बालबालिका बगनासकाली, रामपुर र तानसेनका रहेका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत विश्वनाथ न्यौपानेका अनुसार सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकामा कडा र मध्यम खालको कुपोषण देखिएको छ ।
न्यौपानेले दैनिक खानपानमा पत्रु खानाको प्रयोग बढ्दा सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकामा कुपोषणको मात्र बढी देखिएको बताउनुभयो ।



