पाल्पा – पछिल्लो समय सहकारी ठगी सम्बन्धी घटना बाहिर आउन थालेकाे छ । सहकारी ठगी मुद्दामा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई अदालतले भैरहवा कारागारमा थुनामा पठाएको छ । केही नेता तथा सहकारी संचालक धरौटीमा रिहा भएका छन् । पछिल्लाे समय सहकारी सम्बन्धी ठगीको घटना पाल्पामा पनि बाहिर आउन थालेको छ ।
पाल्पामा तीन महिनाअघि तिनाउ–६, स्थित फुलबारी वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रामबहादुर पन्थ पक्राउ परेका थिए । पक्राउ परेका पन्थले सहकारी संस्थाको ६० लाख बढी रकम अपचलन गरेको आरोप छ । सोही आरोपमा जिल्ला अदालत पाल्पाले उनलाई ५० लाख धरौटी माग गरेको छ । तर धरौटी बुझाउन नसकेपछि उनी पूर्पक्षका लागि थुनामा रहेको जिल्ला अदालत पाल्पाका श्रेष्तेदार केशवराज पराजुलीले जानकारी दिनुभयो । सो मुद्दाको अझै टुंगो लागेको छैन ।
यसैबीच रम्भा गाउँपालिका–४, स्थित हुमिनको लालीगुँरास वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बम्रेल पनि पक्राउ परेका छन् । उनी साउन २६ गते राति आफ्नै हुमिनस्थित घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवनकुमार भट्टराईले पुष्टि गर्नुभयो ।
सहकारी संस्थाको दुई करोड ८७ लाख ५७ हजार ठगी गरेको आरोपमा व्यवस्थापक बम्रेललाई पक्राउ गरिएको उहाँले बताउनुभयो । सहकारी संस्थाबाट फर्जी ऋणी तयार गरेर दुई करोड ८७ लाख ५७ हजार रुपियाँ हिनामिना गरेको आरोप छ । सहकारी संस्थाका अध्यक्ष सुवि विकले दिनुभएको उजुरीका आधारमा बम्रेललाई पक्राउ गरिएको प्रधानले जानकारी दिनुभयो ।
सहकारी संस्थाका सञ्चालक समितिलाई थाहै नदिई व्यवस्थापक बम्रेलले रकम हिनामिना गरेको सञ्चालक समितिका अध्यक्ष विकले बताउनुभयो । गत २०८१ माघमा आफू अध्यक्षमा निर्वाचित भएपछि रकम लगानीका विषयमा सोधपुच गरेपछि मात्र बम्रेलले बदमासी गरेको थाहा पाएको उहाँले बताउनुभयो ।
चार पालिकाका बचतकर्ता बिचल्ली
सहकारी संस्थाले रम्भा, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिकामा वचत तथा ऋणको कारोबार गर्दै आएको थियो । विभिन्न स्थानमा सेवा केन्द्र स्थापना गरी सहकारीले वचत तथा ऋणको कारोबार गर्दै आएको थियो ।
बचतकर्ताको पाँच करोड जोखिममा
करिब एक हजार वचतकर्ताको पाँच करोड र राष्ट्रिय सहकारी बैँकको सहुलियतको झण्डै एक करोड रकम फिर्ता गर्न बाँकी रहेको संस्थाका पदाधिकारीले बताएका छन् । सहकारीले सहुलियतमा पाँच करोड ऋण लिएपनि अधिकांश रकम भने तिरिसकेको छ । सहकारी संस्थाको रकम हिनामिना भएपछि वचतकर्ताले वचत रकम फिर्ता गर्न सञ्चालक समितिलाई चर्को दवाव दिँदै आएका छन् । चर संस्थामा रकम नभएपछि वचतकर्ता रित्तोहात फर्किन बाध्य छन् ।
पदको दुरुपयोग
सहकारी संस्थामा पदको दुरुपयोग गरेपछि संस्था डुब्ने अवस्थामा पुगेको छ । यी दुई सहकारी संस्थामा व्यवस्थापक पन्थ र बम्रेल दुबैले पदको चरम दुरुपयोग गरेको पाइएको छ । पक्राउ परेका बम्रेल २०६४ सालदेखि सकारी संस्थाको संस्थापक अध्यक्षहुँदै दुई कार्यकाल सञ्चालक समितिको नेतृत्व गरेका थिए । आफ्नै हालीमुहाली चलेपछि पछिल्लो एक दशकदेखि संस्थाको कार्यकारी व्यवस्थापक भएका थिए । सहकारी संस्थामा झण्डै एक हजार सेयर सदस्य रहेका छन् ।




