पाल्पा – तानसेन खानेपानी उपभोक्ता समितिले प्रतिष्पर्धाविनै कर्मचारी नियुक्त गरेको छ । उपभोक्ता समितिले कुनै सार्वजनिक सूचनाविनै आफ्ना नजिकका व्यक्तिलाई कर्मचारी बनाएर मासिक तलबभत्ता खुवाएको हाे । समितिकाे निर्णयबाट सूचना अधिकारीको रुपमा विन्दु थापा र कार्यालय सहयोगीको रुपमा पुष्पा बस्याललाई सिँधै नियुिक्त गरिएको हो ।
समितिको विधानमा कर्मचारी नियुक्ति सम्बन्धी कुनै व्यवस्था छैन । यसअघि खानेपानी समितिमा तत्कालिन खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट नियुक्त भएका कर्मचारी मात्र कार्यरत थिए । कुनै पनि सार्वजनिक निकायले मासिक रुपमा तलबभत्ता खाने कर्मचारी नियुक्त गर्दा सार्वजनिक सूचना गरेर प्रतिष्पर्धाका आधारमा मात्र कर्मचारी नियुक्त गर्ने व्यवस्था रहेको छ ।
समितिले विधान र नेपाल सरकारका प्रचलित नियम विपरीत थापा र बस्याललाई कर्मचारी नियुक्त गरेको स्वीकार गरेको छ । उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले काम गर्दै जाँदा कमीकमजोरी भएको स्वीकार गर्नुभयो । विधि र प्रक्रिया अपनाउँदा ढिलाई हुने भएकाले कामको गति बढाउन प्रतिष्पर्धाविनै कर्मचारी नियुक्त गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, विधि र प्रक्रिया अपनाउँदा ढिलासुस्ती हुने भएकाले त्यस्तो नगरेको हो, कमीकमजोरी भएको हुन सक्छ, त्यसलाई सच्याउँदै जान्छौँ ।
यसअघिको तानसेन खानेपानी उपभोक्ता समितिको म्याद सकिएपछि दुई वर्षअघि तानसेन नगरपालिकाको पहलमा समितिलाई वैधानिकता दिइएको थियो । तर पछिल्लो समिति आएपछि पानीको धारा वितरणमा तीव्रता दिने र खानेपानी वितरणमा सहजता ल्याइएपनि कार्यालयको काम भने पारदर्शी हुन नसकेको खानेपानीका उपभोक्ताहरुले गुनासो गर्दै आएका छन् ।



