Search
शनि, माघ १०, २०८२

तानसेन खानेपानीमा अन्धाधुन्द खर्च !

तानसेन – तानसेन खानेपानी उपभोक्ता समितिले अन्धाधुन्द खर्च गरेको छ । उपभोक्ताबाट खानेपानी महशुसवापत उठाएको रकम समितिले मनपरी रुपमा खर्च गरेको हो । समितिले कार्यालय व्यवस्थापन गर्नका लागि ३१ लाख रुपियाँ खर्च गरेको छ । उसले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण रिपोर्टमा कार्यालयको सिंगार तथा फर्निचर खरिदका लागि ३१ लाख ५७ हजार २१६ रुपियाँ खर्च भएको उल्लेख छ । जबकी ३१ लाख खर्चमा समितिले आफ्नै घर बनाउन सक्थ्यो ।
पुराना समिति २०८० असारमा विघटन भएपछि मोहनप्रसाद श्रेष्ठ नेतृत्वको समितिले उपभोक्ताबाट खानेपानी महशुलवापत उठाएको रकम मनपरी खर्च गरेको हो । यसअघि जनता माविको तल्लो गेटअगाडिको कार्यालय सारेर शित्तलपाटी नजिकैको (यसअघि मोनिका गेष्ट हाउस रहेको) घरमा कार्यालय सारिएको थियो । समितिका सचिव प्रेम मल्लले कार्यालयका फर्निचर, पर्दा, एसी, साजसज्जालगायतका ३१ लाख बढी खर्च भएको स्वीकार गर्नुभयो । कार्यालय व्यवस्थापन भनेर अडिट रिपोर्टमा उल्लेख गरिएपनि विभिन्न श्रीर्षकमा खर्च भएकाले कार्यालयमा आएर हेरिदिन उहाँले आग्रह गर्नुभयो ।
समितिको अन्धाधुन्द खर्च देखेर खानेपानीका उपभोक्ता भने अचम्वित बनेका छन् । घर बनाउन सकिने खर्चले अध्यक्षसहित पदाधिकारी बस्ने कोठा विलासीपूर्ण बनाएको, अनावश्यक फर्निचर खरिद गरेर अस्वभाविक खर्च देखाएको उपभोक्ताको भनाई छ ।
नेपालको संविधानले हरेक नागरिकले निशुल्क पिउने पानी पाउने नैसर्गिक अधिकार छ । तानसेनमा खानेपानी निशुल्क खुवाउन नसकेर नेपाल सरकारले २०६८ सालमा उपभोक्तालाई यसको व्यवस्थापनको जिम्मा लगाएको थियो । तर उपभोक्ता समिति पारदर्शी, मितव्ययी र कानुनसम्मत बन्न नसक्दा उपभोक्ताले दुख पाइरहेका छन् ।
अन्य श्रीर्षकमा पनि मनपरी खर्च

अतिथि सत्कारमा मात्र ६ लाख खर्च
समितिले कार्यालय व्यवस्थापनमा मात्र होइन, अन्य श्रीर्षकमा पनि अस्वभाविक मनपरी खर्च गरेको छ । समितिले अतिथि सत्कार श्रीर्षकमा आव २०८०/०८१ मा तीन लाख ८० हजार १९७ रुपियाँ र आव २०८१/०८२ मा दुई लाख २२ हजार ५०६ रुपियाँ खर्च गरेको छ । जबकी अघिल्लो समितिले आव २०७९/०८० मा अतिथि सत्कार श्रीर्षकमा ६६ हजार ९२० रुपियाँ मात्र खर्च गरेको थियो । यसरी हेर्दा पछिल्लो समितिले अघिल्लो समितिको तुलनामा पाँच गुणा बढी खर्च गरेको छ । समितिले यसलाई स्वभावित मानेपनि उपभोक्ताले यसलाई फजुल खर्च मानेका छन् ।

समितिका पदाधिकारीकाे पाेशाक 

यसैबीच सामाजिक काम गर्न गएका उपभोक्ता समितिका पदाधिकारीले उपभोक्ताबाट अशुल गरेको रकमबाट पोशाक समेत खरिद गरेका छन् । समितिका नौँ जना पदाधिकारीले खानेपानीको महशुलबाट संकलित रकमबाट पोशाकका लागि ७० हजार रुपियाँ खर्च गरेको समितिका एक पदाधिकारीले बताए । उपभोक्ताका लागि अत्यावश्यक खानेपानी बेचेर समितिका पदाधिकारीले व्यक्तिगत सम्पत्ति जस्तै मनोमानी गरेको उपभोक्ताको भनाई छ । कार्यालयका कर्मचार्रीका लागि सुविधा थप गर्नु, पोशाक दिनु राम्रो भएपनि समितिकै पदाधिकारीले व्यक्तिगत सम्पत्तिझै गरी निर्णय गरी रकम दुरुपयोग गर्नु सोभनीय भएन, एक उपभोक्ताले भने ।
काठमाडौँको गोष्ठीमा पाँच लाख
समितिले काठमाडौँलगायतका स्थानमा खानेपानी सम्बन्धी गोष्ठी गरेर चार लाख ९४ हजार ७११ रुपियाँ खर्च गरेको छ । समितिले अन्य विविध श्रीर्षकमा लाखौँ रुपियाँ खर्च गरेको छ । जबकी विविध श्रीर्षकमा एक लाख रुपियाँ भन्दा बढी खर्च देखाउनु आर्थिक दृष्टिले शंकास्पद मानिन्छ ।
समितिको खरिद प्रक्रिया कानुन विपरीत
यसैबीच समितिले लाख र करोडका सामान खरिद गरेपनि सार्वजनिक खरिद ऐन र नियमावली अनुसार गर्न सकेको छैन । कार्यालयले पाइप, प्यानल बोर्ड, मर्मतसुधार, डिपिआर निर्माण, पानीमा हाल्ने औषधि, कर्मचारी छनौट, पम्प खरिदलगायतमा सार्वजनिक खरिद ऐन र नियमावली मिचेर खरिद र भुक्तानी गरेको छ । जबकी कुनैपनि सार्वजनिक निकायले एक लाख देखि पाँच लाखसम्मको खरिमा कोटेशन आह्वान गर्नुपर्छ भने पाँच लाख देखि माथिका सामग्री खरिदमा प्रतिष्पर्धाका आधारमा खरिद गर्नुपर्छ । खरिद प्रक्रियाका बारेमा उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले आफूहरूले कामलाई प्राथमिकता दिँदा नियमकानुनमा ध्यान दिन नसकेको प्रतिक्रिया दिनुभएको छ ।
दलहरू चुपचाप
यसैबीच उपभोक्ता समिति निर्माणमा मिलेमतो गरेका पाल्पाका राजनैतिक दलहरुसमेत चुपचाप छन् । समितिको गैरकानुनी क्रियाकलाप बढेको बाहिरबाहिर बोल्दै हिँडेपनि उनीहरूले सार्वजनिक रुपमा बोल्न सकेका छैनन् । समितिमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमोर्चा, राप्रपाबाट सिफारिस भएका व्यक्तिहरूले नेतृत्व गरिरहेका छन् ।

समितिले केही दिनअघि गरेको साधारणसभा समेत अवैध भएको चर्चा बाहिर आउन थालेको छ । समितिको विधानमा चार हजार पाँच सय सदस्य साधारणसभामा सहभागीकाे गणपूरक संख्या अपुग भएकाे र सभा अवैध भएकाे बताइएकाे छ । उक्त साधारणसभामा बढीमा चार सय सदस्यमात्र सहभागी थिए । साे सहभागी कुल सहभागीकाे एक तिहाइ पनि हाेइन ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।