पदम गैरे, पाल्पा, बगनासकाली गाउँपालिका वडा नं. १ घोरबन्दाका कुमाल समुदायका सघर्षशील दुई जना महिलाहरुले समाजमा देखाएको प्रेरणादायी तथा सघर्षका कुराहरु आज यहाँहरु समक्ष राख्ने कोसिस गरेका छौंं।
बिहानको साढे चार बज्दा घोरबन्दा गाउँ शान्त हुन्छ तर, घोरबन्दाकी तेजकुमारी कुमालको दैनिकी भने सुरु भइसकेको हुन्छ। चुल्हो चौको, घरको सरसफाइ र परिवारको हेरचाहमा उहाँले आमासँगै विहानको तीन चार घण्टा बिताएको पत्तो नै हुँदैन । यो उहाँको ‘अवैतनिक’ तर सबैभन्दा जिम्मेवारीपूर्ण काम हो तेजकुमारीको परिचय यतिमा मात्र सीमित छैन । घरको सारा जिम्मेवारी पूरा गरेर उहाँ तानसेन स्थित युनाइटेड मिसन अस्पतालतर्फ आउनुहुन्छ। जहाँ उहाँको अर्को महत्वपूर्ण भूमिकाले पर्खिरहेको हुन्छ उहाँ मिसन अस्पतालमा ८ घण्टा जागिरमा ब्यस्त हुनुहुन्छ। उहाँले मिसन अस्पतालमा क्यासियरको जिम्मेवारी पाउनु भएको छ ।
यो काम निकै होसियारीपूर्वक गर्नुपर्छ । आर्थिक कारोबार तलमाथि भयो भने आफैलाई नै समस्या हुन्छ, तर पनि उहाँले सवैकाम निकै कुशलतापूर्वक गरिरहनु भएको छ । अस्पतालले दिएको जिम्मेवारीपूर्ण काम गर्न भने उहाँले परिवारबाट सिक्नुभएको हो । जसको कारण उहाँ घरपरिवार,गाउँमा मात्र होइन अस्पतालमा समेत सबैको प्रिय बन्नुभएको छ । जेतकुमारीको कहिले विहान, कहिले दिउसो त कहिले साँझ डियुटी पर्छ । विहान डियुटी पर्यो भने विहान ६ बजे नै घरबाट निस्कनुपर्छ ।
आमाबुबालाई खानेकुरा पनि बनाउन नै पर्यो, त्यो पनि गर्न भ्याउनुहुन्छ । आफ्नो सरसफाई सकेर चिया नास्ता खाएर विहान ७ बजेको डियुटी भेटाउन े दौडधुप गर्नुपर्ने तेजकुमारीको दैनिकी बनेको छ । तेजकुमारी घरायसी काममा जति मेहनत गर्नुहुन्छ । त्यति नै मेहनत र लगनशील अस्पतालमा पनि हुनुहुन्छ उहाँको प्रावि तहको पढाई स्थानीय राम नि.मा.विबाट शुरु भएको हो । त्यसपछि तानसेनमा रहेको सेन मा.वि बाट उहाँले आफ्नो अध्ययनलाई अगाडि बढाउनु भयो । पढाईमा पनि निक्कै अब्बल तेजकुमारीले २०६७ सालमा प्रथम श्रेणीमा एसइई उर्तीण गर्न सफल हुनु भयो। उहाँले एसईइमा प्रथम श्रेणीमा पास हुँदा गाउँमा मात्र उहाँको चर्चा भएन जिल्ला हुँदै सिंगो देश र अन्तराष्ट्रिय स्तरमा समेत चर्चा पाउन सफल भयो । उहाँले कक्षा १२ को पढाई पनि सेनमावि तानसेनबाट पूरा गर्नुभयो विएको पढाई भने त्रिभुवन बहुमुखी क्याम्पसबाट गर्नुभयो ।
तेजकुमारीको परिवारको आर्थिक अवस्था कमजोर थियो । तानसेनमा ज्याला मजदुरी गरेर भएपनि आफ्नो पढाई पूरा गर्न सफल हुनु भयो त्यति मात्र नभएर आफ्नो घरमा गाउँका बालबालिकाहरुलाई विहानी कक्षा समेत पढाउने काम गर्नुभयो । जसले गर्दा पढाईमा आर्थिक सहयोग सघाउँ पुगेको थियो । सानै देखि जेहन्दार विद्यार्थीको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको कारण विद्यालय देखि उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउन सफल हुनु भएको छ । नियमित रुपमा क्याम्पस जान जागिरका कारण नपाएपनि व्यवस्थापन विषयमा राम्रो अंकमा स्नात्तकोत्तर उर्तीण गर्न सफल हुनु भएको छ । तेजकुमारीले अस्पतालको कामको सक्रियतामा कुनै कमी आउन दिनु भएको छैन। कामप्रतिको जवाफदेहीताका कारण सबैको माया र सहयोग पाउनु भएको छ । दृढ अठोट भए उमेर र व्यस्तताले प्रगतिलाई रोक्न सक्दैन भन्ने उदाहरण वन्न सफल हुनु भएको छ तेजकुमारी। तेज कुमारी एक साहसी महिला, हुनुहुन्छ जसले आफ्नो कार्यक्षेत्रको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउँदै उच्च शिक्षाको खुड्किलो पनि पार गर्नुभयो । कार्यालयको व्यस्त कार्यतालिका पारिवारिक जिम्मेवारी र अध्ययनका बीच सन्तुलन मिलाउनु उहाँका लागि निकै चुनौतीपूर्ण थियो । तर, उहाँले हार नमानी आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिनु भयो र आज सवैको लागि प्रेरणादायी महिला बन्न सफल हुनु भएको छ ।

तेजकुमारी कुमालको सफलताको कथा केवल मेहनतमा मात्र होइन, पारिवारिक जिम्मेवारी प्रतिको गहिरो निष्ठामा पनि अडिएको छ । उहाँका बुबा भक्तबहादुर कुमाल कुनै समय निर्माण क्षेत्रमा ’ठेक्का’को काम गर्नुहुन्थ्यो । गाउँका धेरै संरचनाहरू उहाँकै हातले ठड्याइएका छन । तर, उमेर ढल्कँदै गएपछि र बुढेशकालले छोएपछि अहिले भक्तबहादुरले भारी काम गर्न सक्नुहुन्न। यस्तो अवस्थामा परिवारको आर्थिक जिम्मेवारी तेज कुमारीको काँधमा आएको छ। घरमा आमा घरायसी काममै व्यस्त हुनुहुन्छ र घरको खर्च टार्ने मुख्य स्रोत नै तेज कुमारीको जागिर बनेको छ । यसैगरी बगनासकाली गाउँपालिका १ घोरबन्दाकी उषा कुमाल कुमाल समुदायको गाउँको पहिलो स्थायी शिक्षिका हुनुहुन्छ। शिक्षिका कुमालको बाल्यकाल कुमाल समुदायकै रहन–सहनमा बित्यो । उहाँले कक्षा ५ सम्म गाउँकै राम निमाविमा अध्ययन गर्नुभयो २०६० सालमा सेन मा.वि. तानसेनबाट एस.एल.सी. उत्तीर्ण हुनुभयो । पढाईको महत्व बुझनु भएकी उषाले त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाबाट नेपाली विषयमा स्नातकोत्तर पछि शिक्षण पेशा रोजाईको विषय बनाउनु भयो ।
उषाको सुरुमा नर्स बन्ने इच्छा थियो तर समाजको गरिबी र अशिक्षा देखेपछि आफूनै शिक्षक बनेर गाउँलाई शिक्षित बनाउने जाँगर चल्यो र शिक्षिका बन्नुभयो । उहाँले २०६५ सालमा राम निमाविबाट राहत शिक्षकको रूपमा अध्यापनको यात्रा सुरु गर्नुभएको हो । उषा २०७६ सालमा शिक्षक सेवा आयोगबाट नाम निकाली घोरबन्दाकी कुमाल समुदायकै पहिलो स्थायी शिक्षक बन्न सफलता मिल्यो । हाल उहाँ ग्राम्य माविमा चिर्तुङधारामा पढाउनुहुन्छ घरायसी कामसँगै उषाले शिक्षण पेशा गर्न सहज भने थिएन।उहाँले साँझविहान पारिवारिक, आर्थिक तथा सामाजिक नेतृत्व गर्दै दिनभर शिक्षण पेशाप्रति जवाफदेही हुनुपर्ने थियो । यी सबै काम जिम्मेवारीपूर्ण बहन गर्दै उहाँ शिक्षक सेवाका उत्र्तीण गर्न मेहनत गर्नुपर्ने थियो । परिवारका अन्य सदस्यहरु साँझमा खाना खाएर सुत्दा उहाँको हातमा किताब,कापी र कलम साथीका रुपमा उपस्थिति हुन्थ्यो । यही मेहनतले उषा शिक्षिका मात्र होइन, आत्मनिर्भर सक्षम महिलाका रुपमा पहिचान दिन सक्ने समुदायकै नमुना हुन सफल हुनु भएको छ । उहाँले गाउँमा ’उषा मिस’ भनेर फरक पहिचान बनाउनु भएको छ । घरायसी कामसँगै उहाँ अहिले शिक्षण पेशाबाट अनुकरणीय बन्न सफल हुनु भएको छ । शिक्षण पेशाबाट भएको आम्दानीले अहिले केही रकम बैँक तथा सहकारीमा बचत गर्न समेत उषा सफल हुनु भएको छ ।

पछिका लागि केही रकम बचत गर्न समेत भ्याउनु भएको छ । मैले मात्र होइन, सबैले सानो सानो रकम बचत गर्ने बानीको विकास गर्नुपर्छ उहाँको भनाई छ । स्थानीय क्लबमार्फत सामाजिक जागरण, मदिरा रोकथाम र कुमाल भाषा, कला तथा संस्कृतिको संरक्षणमा उषाको नेतृत्वदायी भूमिका छ। उहाँले ’नेपाल कुमाल समाज सुधार समितिको केन्द्रीय सचिवको समेत जिम्मेवारी पूरा गरेको अनुभव छ । बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी,तेज कुमारी कुमाल र उषा कुमाललाई आफूले नजिकैबाट चिनेको बताउनुहुन्छ । अध्ययनप्रतिको रुचि र कडा परिश्रमले कुमाल समुदायका महिलाहरु आत्मनिर्भर बनेर समाजमा नमुना बन्न सफल भएको अध्यक्ष चिदीले बताउनु भयो । तेजकुमारी र उषा लाई हेरेर पनि केहि गर्नुपर्दछ भन्ने भावनाको थुप्रैमा विकास भएको अध्यक्ष चिदी भनाई छ ।




