पाल्पा – साहित्यकार पुष्कर अथकको उपन्यास कृति ‘अमरामृत’ शनिबार सार्वजनिक भएको छ । कृति खड्गशम्सेर र रानीमहलमा आधारित रहेको छ । पाल्पा साहित्य समाजको आयोजनामा तानसेनमा आयोजित एक समारोहमा प्रमुख अतिथि खड्ग फाउण्डेशनका अध्यक्ष एवम् खड्ग शम्सेरका पनाती डा. अजय शम्सेर जबराले अथकको कृतिले खड्गशम्सेरबारे गुमेको इतिहास फर्किएको अनुभूति भएको बताउनुभयो । तिनपटक पाल्पा आउदा, रानीमहल पुगेको स्मरण गर्दै राणाले रानीमहलको अवस्था देख्दा सारै दुखित भएको बताउनुभयो ।
पाल्पाको कार्यक्रम पाल्पामा गर्न पाउदा खुसी लागेको छ, राणाले भन्नुभयो रानीमहललाइ सुन्दर र जीवित राख्न सबैको सहकार्य आवश्यक रहेको छ । खड्ग शमशेर दुर दृष्टिका व्यक्तित्व, रानीमहल संचालनको लागि २ हजार रोपनी गुठी व्यवस्था गरेको तर अहिले कहाँ हरायो कसले संरक्षण गर्ने उहाँले प्रश्न गर्नुभयो । त्यसको संरक्षण गर्न सकेमा, पाल्पालीको भविष्य समेत त्यसैमा हुनेछ, रानीमहल संरक्षणमा गैरराजनीतिक समिति बनाउन र संरक्षण गर्न तयार रहेको उहाँको भनाइ छ ।
खड्ग शमशेरले बुद्ध नेपालमा जन्मेको कुरा उजागर गरेको त्यसलाई उजागर गरेमा लुम्बिनीको पर्यटक पाल्पा ल्याउन सहयोग पुग्ने राणाले बताउनुभयो । रानीमहलको भित्र रहेका मठमन्दिरमा नित्य पुजा गरेमा धार्मिक पर्यटन समेत भित्र्याउन सकिने उहाँको भनाई छ ।
कृतिको समीक्षा साहित्यकार भागवत खनाल र अर्चना शाक्यले गर्नुभएको थियो । समीक्षकद्वयले सेनवंशीय भौतिक सम्पदाको खोजी र संरक्षणमा थप प्रयास आवश्यक रहेको औंल्याउनुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वरिष्ठ पत्रकार मेघराज शर्माले पाल्पा र पाल्पालीको गौरव रानीमहलको विषय समावेश गरिएको कृतिले उचित बजार पाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका पर्यटन विकास समिति संयोजक पदमराज न्यौपाने, सम्पदा प्रतिष्ठान पाल्पाका अध्यक्ष रामजीप्रसाद ढुंगाना, साहित्यकार सीताराम घिमिरे र पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले मन्तव्य राख्दै पाल्पाको सांस्कृतिक पर्यटन विकासको लागि सम्पदा संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।
पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंहको अध्यक्षतामा भएको कार्यक्रममा कृतिकार पुष्कर अथक रेग्मीको धन्यवाद ज्ञापन र सचिव सविता भट्टराईको सञ्चालन रहेको थियो ।
अथकको ‘अमरामृत’ कृतिको प्रकाशकमा गोपाल पौडेल रहनुभएको छ । जम्मा ३ सय ३६ पृष्ठको कृतिको मूल्य ८ सय ५५ रुपैंया राखिएको लेखक अथकले जानकारी दिनुभयो, उहाँले कृति अध्ययन गरेर कृतिको कमिकमजोरी औंल्याईदिन पाठकलाई अनुरोध गर्नुभयो, पाठकको सुझावलाई आगामि दिनमा सुधार गर्दै लाने प्रतिवद्धता समेत जनाउनुभयो ।




