Erani Mahal
शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसमा विविध कार्यक्रम
rally-Tansen-076-bhadra-22

तानसेन – हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण मूल नारासहित तानसेन नगरपालिका नगर शिक्षा समितिको आयोजनामा भदौ शनिबार र आइतबार लोकनृत्य र शिक्षक विद्यार्थी सम्मान लगायतका कार्यक्रम गर्दै ४० औ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस सम्पन्न भएको छ ।

आइतबार तानसेन नगरपालिका स्तरीय लोकनृत्य प्रतियोगितामा १४ विद्यालय सहभागी भएका थिए । कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि तथा कार्यवाहक नगरप्रमुख लक्ष्मीदेवी पाठकले गर्नु भएको थियो । मौलिक वाजा र सिर्जनालाई समावेश गरिएको लोकनृत्यमा दमकडा माबि प्रथम, शारदा माबि दोस्रो, सेन माबि तेस्रो र बेथल बोर्डिङ्ग स्कुल सान्त्वना भएको तानसेनपालिका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले बताउनु भयो । विजेतालाई पुरस्कार तथा सहभागी सबैलाई प्रमाणपत्र र गाडीभाडाको व्यवस्था गरिएको थियो । यसैगरी भदौ २२ गते प्रभातफेरी लगत्तै तानसेन नगरपालिका हलमा मन्तव्य तथा पुरस्कार सम्मान वितरण समारोह आयोजना गरिएको थियो ।


कार्यवाहक नगरप्रमुख लक्ष्मीदेवी पाठकको अध्यक्षतामा भएको समारोहमा जनता विद्यालयका विद्यार्थीहरुले गीत गाएर पाहुनाको स्वागत गरेका थिए । तानसेन नगर शिक्षा समिति संयोजक तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत रेशमलाल न्यौपानेले तानसेन नगरपालिकाको शैक्षिक अवस्थाबारे प्रकाश पार्दै पाहुनाको स्वागत गर्नु भयो । न्यौपानेले गुणस्तरीय शिक्षाका लागि आवश्यक योजनासहित नगरपालिकाले कार्यक्रम तय गरिआएको र कार्यान्वयन गर्ने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका विजयी विद्यार्थी तथा विद्यालयलाई पुरस्कारसहित सम्मान गरिएको थियो । त्यसैगरी कक्षा ८ र एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षकलाई समेत सम्मान र पुरस्कृत गरिएको थियो । त्यसैगरी शिक्षा क्षेत्रमा लामो समयदेखि सेवारत शिक्षक शिक्षिकाहरु क्रमशः मदनप्रसाद सुवेदी, रेश्मीराज पाण्डे, केशवराज नेपाल, शकुन्तला बज«ाचार्य, नेत्रप्रसाद भट्टराई र निर्मलप्रसाद प्रधानलाई दीर्घ सेवा सम्मान गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि ५ नं प्रदेश सभा सदस्य डा पुरनमान बज«ाचार्यले समृद्धिका लागि गुणस्तरीय शिक्षाको खाँचो रहेको बताउनु भयो । उहाँले दक्ष शिक्षक र राजनीतिमुक्त शैक्षिक वातावरणमा मात्र गुणस्तरीय शिक्षा सम्भव हुने भएकाले अभिभावक, शिक्षक लगायतले यसतर्फ ध्यान दिनुपर्ने कुरामा जोड दिनु भयो । बज«ाचार्यले तानसेनको शैक्षिक विकासका लागि प्रदेश सरकारले समेत सघाउनुपर्ने बारेमा आफूहरुले आवाज उठाएको जानकारी गराउनु भयो ।

विशिष्ट अतिथि प्रदेश सभा सदस्य वीरबहादुर रानाले शैक्षिक सुधारका लागि नीतिको अभाव होइन नैतिकता र नैतिक शिक्षाको अभाव छ भन्दै रानाले दल र जनप्रतिनिधिलाई समेत नैतिक शिक्षाको खाँचो छ भन्नु भयो । उहाँले शिक्षकहरु वादभित्र रमाएर बस्न नहुने कुरा समेत उठाउनु भयो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले व्यवसायिक शिक्षा अहिलेको खाँचो हो भन्नु भयो । प्रमुख जिल्ला अधिकारी उमेश ढकालले पढेका जनशक्ति पलायन नहुन भन्नेतर्फ हाम्रो ध्यान जानुपर्ने बताउनु भयो ।

नेकपा पाल्पा तानसेन नगर कमिटीका सहइञ्चार्ज गुराँस आत्रेयले उच्च शिक्षाका लागि तानसेनबाट विद्यार्थी बाहिरिनुपर्ने अवस्था अन्त्यका लागि सबैले सोच्नुपर्ने बताउँदै रचनात्मक गतिविधिमा जोड दिन ध्यानाकर्षण गराउनु भयो । राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले पाल्पाको पुरानो शैक्षिक साख फर्काउन सबैले गम्भीर बन्नु पर्दछ भन्नु भयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन ५ नं प्रदेश अध्यक्ष बिष्णु पोखरेलले ३ तहका सरकारले आवश्यक नीतिसहित शिक्षालाई ज्ञान, सीप र उत्पादनसँग जोडेर लानुपर्ने कुरामा जोड दिनु भयो । शिक्षक महासंघ पाल्पाका अध्यक्ष देवीप्रसाद भट्टराई, नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पाका अध्यक्ष रामप्रसाद ढकाल, नेपाल शिक्षक संघ पाल्पाका अध्यक्ष धनकला गाहा, देववाणी संस्कृत तथा साधारण माविका प्रधानाध्यापक कृष्ण थापा, नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व सभापति गोविन्द भट्टराईलगायतले वैदेशिक रोजगारीमा निर्भर हुनुपर्ने कुराको अन्त्य तथा स्थानीय विकासका लागि जनशक्ति उत्पादनका निम्ति गुणस्तरीय तथा प्राविधिक शिक्षा आजको खाँचो हो यसतर्फ सरोकारवालको भन्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएकी कार्यवाहक नगरप्रमुख लक्ष्मीदेवी पाठकले प्रदेश र संघीय सरकारले स्थानीय सरकारको अधिकार कटौती गर्न नहुने कुरा उठाउदै पालिकाहरुको काम शिक्षकलाई तलव खुवाउने मात्रै हो त ? भन्नु भयो । कार्यक्रम सञ्चालन नगर शिक्षा समितिका सदस्य भेषराज सुवेदीले गर्नु भएको थियो । विद्यार्थीहरुले रोचक नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update