Erani Mahal
मौरीपालनबाट वार्षिक चार लाख वचत

पाल्पा – रुपन्देहीस्थित तिलोत्तमा–४, सुपौलीका धनबहादुर थापाले मौरीपालनबाट वार्षिक छ लाख रुपियाँ आम्दानी गर्नुहुन्छ । अढाई दशक भारतीय सेनामा सेवा गर्नुभएका थापासँग मौरीपालनबाट खर्च कटाएर चार लाख रुपियाँ वचत गरेको अनुभव छ । मौरीपालन गर्न सजिलो र आम्दानी पनि राम्रै भएकाले आफू विगत डेढ दशकदेखि यसमै सक्रिय रहेको उहाँले सुनाउनुभयो । 
मौरीपालनमा अरु पेशामा जस्तो कडा श्रम गर्नुपर्ने, धेरै लगानी गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाई छ । मौरीको स्याहार सुसार गर्ने, घाम पानी र मौरीको खानपानबारे जाने मौरीपालन राम्रै गर्न सकिने थापाको अनुभव छ । हाल २४ वटा घार मौरीपालन गर्नुभएका थापाले आफूले वार्षिक सात सय किलो मह बिक्री गर्दै आएको बताउनुभयो । 
थापामात्र होइन, उहाँसँगै मौरी पालनमा छिमेकी कर्णबहादुर पुन पनि व्यस्त हुनुहुन्छ । हाल २६ वटा घारमा मौरीपालन गरिरहनुभएका पुनले वार्षिक ७५० किलो बढी मह उत्पादन गर्दै आएको बताउनुभयो । भारतीय सेनाबाट निवृत्त भएपछि आफू पनि मौरीपालनमा व्यस्त बनेको उहाँ बताउनुहुन्छ । 
मौरीपालनको काम अरु पेशाभन्दा सहज रहेको पुनको पनि बुझाइ छ । मौरीपालनमा मुख्य समस्या भनेको चरनको रहेको छ । मौरी चरनका लागि रुपन्देहीको विभिन्न स्थान, भारतको सीमा, दाङ्, पाल्पाको माडी, नवलपरासी क्षेत्रमा आफूहरू पुग्ने गरेको पुनले बताउनुभयो  । मह उत्पादनमा मौरीको सङ्ख्या र चरनले फरक पार्ने दुबैजनाको अनुभव छ । सबैभन्दा बढी मह उत्पादन दिने समय चैत, बैशाख, असोज र कात्तिक महिनामा रहेको मौरी चरणका लागि पाल्पास्थित माथागढी–३, माडीमा आउने क्रममा पुनले सुनाउनुभयो । 
मौरीपालनमा चरनका लागि ढुवानी र मह काढ्ने बेलामा थप जनशक्ति आवश्यक हुने, त्यसबाहेक अन्य खर्च खासै नहुने थापा र पुनको अनुभव छ । मौरीलाई चराउन विभिन्न जिल्लामा जाँदा आउँदा ढुवानी खर्च हुन्छ । साथै मह काढ्ने बेलामा ज्यामी खटाउनुपर्ने थापाले बताउनुभयो । खर्च कटाएर वार्षिक तीन÷चार लाख रुपियाँ वचत गर्नका लागि विदेश जान र कसैसँग हात फैलाउन नपरेको थापाले बताउनुभयो । 
थापा र पुनले उत्पादन गर्नुभएको मह बिक्रीका लागि पनि कुनै समस्या छैन । मह खरिद गर्ने व्यापारी र आफैँ प्रयोग गर्ने उपभोक्ता घरमै आउने गरेको थापाले बताउनुभयो । ‘घरमै मह किन्न भनेर व्यापारी आउँछन् थापाले भन्नुभयो प्रतिकिलो सात सय रुपियाँमा बिक्री गरेको छु, त्यसमध्ये दुई सय रुपियाँ खर्च काटेर प्रतिकिलो पाँच सय रुपियाँ बच्छ उहाँले थप्नुभयो ।’
 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update