पाल्पा – पाल्पामा सञ्चालित चार वटा चुनढुङ्गा खानीले राष्ट्रिय वन अतिक्रमण गरेर अबैध चुनढुङ्गा उत्खनन् गरेका छन् । जिल्लाको माथागढी–५, मा रहेको बिएस सिमेन्ट प्रालि, वडा नं. ७ मा रहेको पाल्पा सिमेन्ट प्रालिले राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी अबैध चुनढुङ्गा निकासी गरेका हुन् । यस्तै तिनाउ गाउँपालिका–३, स्थित कन्चन क्वारिज प्रालि र तिनाउमै सञ्चालित सिद्धार्थ मिनिरल्स प्रालिले पनि राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरेर अबैध चुनढुङ्गा र वन पैदावर निकासी गरेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।
बिएस मिसेन्ट प्रालिले स्वीकृति पाएको क्षेत्रभन्दा ९.६४ हेक्टर वन क्षेत्र अतिक्रमण गरेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो । उसले वन क्षेत्र अतिक्रमण गरी खानीजन्य पदार्थ निकासी गरेको, वन क्षेत्रको रुखबिरुवा नष्ट गरेको उहाँले बताउनुभयो । यस्तै पाल्पा सिमेन्ट प्रालिले चुनढुङगा उत्खनन्का लागि पाएको स्वीकृति भन्दा बढी ३.०२ हेक्टर क्षेत्रफल अतिक्रमण गरेर खानीजन्य पदार्थ निकासी गरेको छ ।
यस्तै सिद्धार्थ मिनिरल्स प्रालिले ७ हेक्टर वन क्षेत्र अतिक्रमण गरेको डिभिजन वन कार्यालयले जनाएको छ । दुइ वर्षअघि पाल्पासहितका संचारमाध्यमले केही उद्याेगले स्वीकृति पाएकाे भन्दा बढी क्षेत्रमा चुनढंगा उत्खनन गरेकाे समाचार प्रकाशित प्रशारित गरेका थिए । त्यसपछि तत्कालिन पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तकाे अध्यक्षतामा बसेकाे सर्वपक्षीय बैठकले अतिक्रमण भएकाे हाे वा हाेइन यकिन गर्न समिति बनाउने र प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकाे थियाे ।
त्यसपछि डिभिजन वन कार्यालय पाल्पाकाे नेतृत्वमा विज्ञ सहितको छानविन तथा अनुगमन समिति बनाएको थियो । सोही समितिले कन्चन क्वारिजले ४.४ हेक्टर वन क्षेत्र अतिक्रमण गरेको ठहर गरेकाे थियाे । यसरी चार कम्पनीले १८ हेक्टर बढी वन क्षेत्र अतिक्रमण गरेकाे बताइएकाे छ । ती कम्पनी बिरूद्ध र तिनका संचालकबिरूद्ध जिल्ला अदालत पाल्पामा वन कार्यालयले मुद्धा दायर गरेकाे छ ।