Erani Mahal
चिच्याएर वर माग्ने मेलामा तीन लाख भक्तजन सहभागी, ट्राफिक समस्याले सास्ती

तानसेन – चिच्याएर वर माग्नका लागि पाल्पाको सत्यवतीमा भक्तजनको तीन लाख भक्तजन त्यहाँ पुगेका छन् । पाँच दिनको अबधिमा सत्यवतीमा वर माग्नका लागि तीन लाख भक्तजन मन्दिर परिसरमा पुगेको स्थानीय बासिन्दाले बताएका छन् ।  जिल्लाको तिनाउ गाउँपालिका–४, स्थित सत्यवतीमा रहेको मन्दिरको दर्शन गर्न र ताल वरिपरि घुमेर चिच्याएर वर माग्न पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, चितवनलगायत भारतबाट समेत त्यहाँ भक्तजन पुगेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । । 
परापूर्व कालमा सत्यवती बज्यै सत्यको खोजीमा त्यस स्थानमा आई तपस्या गरेको र शक्ति आर्जन गरेको जनविस्वास छ । शक्तिकी देवी सत्यवती बज्यैलाई आफूले चिताएको वर चिच्याएर मागे बज्यैले पूरा गरिदिने जनविस्वास रहेको सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । satyabatii-tal-mela-1731767542.jpg

कात्तिक २७ गतेदेखि लागेको वर माग्ने मेलामा अहिलेसम्म झण्डै तीन लाख बढी भक्तजन मन्दिरमा आइसकेको उहाँले जानकारी दिनुभयो । आज शनिबार पनि विभिन्न स्थानबाट भक्तजन आउने क्रम जारी रहेको उहाँले बताउनुभयो । वर माग्ने मेलामा भक्तजनले निगालोको लिङ्गो लिएर रातको समयमा ताल छेउमा गाँड्ने र भोलिपल्ट सोही लिङ्गो चिनेर पूजा गर्दछन् । यस्तै ताल वरपर भक्तजन तीन पटक घुमेर वर माग्ने गरेका छन् । 
यहाँ हरेक वर्ष तिहार पर्वपछिको पूर्णिमामा ठूलो मेला लाग्ने गरेको छ । यस पटक भक्तजनको सङ्ख्या अत्यधिक भएकाले यातायात व्यवस्थापन र पूजा व्यवस्थापनमा समस्या देखिएको थियो । भक्तजनले एकतर्फी सवारीसाधन चल्ने सडकमा ट्राफिक जाम भएर सास्ती बेहोर्नु परेको गुनासो गरेका छन् ।  यस्तै त्यहाँसम्म जाने बाटाे सहज नहुँदा पनि भक्तजनले दुख पाएका थिए । भक्तजनले सम्वन्धित निकाय तिनाउ गाउँपालिका र मन्दिर व्यवस्थापन समितिले ट्राफिक जाम र पूजा व्यवस्थापनमा ध्यान दिन नसकेकाे बताएका थिए । 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update