पाल्पा – पाल्पाको सत्यवतीमा चिच्याएर वर माग्ने मेला मङ्गलबारदेखि सुरु भएको छ । सत्यवती ताल घुमेर चिच्याएर वर माग्नका लागि भक्तजन आउने क्रम सुरु भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा आउने भक्तजनको सङ्ख्या मंगलबारको तुलनामा बुधबार बढ्दै गएको छ ।
पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, पोखरा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, चितवन, काठमाडौँ, भारतलगायतका स्थानबाट वर मााग्नका लागि भक्तजन आउन थालेको समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । यस वर्ष जोग परेकाले भक्तजनलाई आउन र फर्किन सुबिधा होस् भनेर चार दिनसम्म मेला गर्न लाागेको अध्यक्ष गाहाले बताउनुभयो ।
परापूर्व कालमा सत्यको खोजी गर्दै सत्यवती बज्यै घना जङ्गलमा बसेर तपस्या गरी शक्ति आर्जन गरेको जनविस्वास रही आएको छ । सत्यवती बज्यै बहिरी रहेको र चिच्याएर वर माागे कानले सुन्ने र उक्त वर पूरा गरिदिने जनविस्वासले यहाँ परापूर्व कालदेखि नै वर्षको एक पटक मेला लाग्ने गरेको छ । तिहार पर्वपछिको एकादशीदेखि पूर्णिमासम्म यहाँ वर माग्ने मेला लाग्ने गरेको छ ।
यहाँ वर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन रहेको रहेको तिनाउ–४, का तुलबहादुर आलेले बताउनुभयो ।
यो वर्ष चार लाखभन्दा बढी भक्तजन सत्यवती आउने अनुमान गरिएको उहाँले बताउनुभयो । चिच्याएर वर माग्न आउने भक्तजनको यातायात सुविधाका लागि सडक मर्मत गरिएको छ । यस्तै सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि सबै तयारी पूरा भएको वडाअध्यक्ष आलेले बताउनुभयो ।