पाल्पा – भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको रकम हिनामिनामा संलग्न जोकोही भएपनि कारबाहीमा पर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले बुधबार बिहान तानसेनमा गरेको पत्रकार भेटघाटमा बोल्नुहुँदै उहाँले सहकारीको रकम हिनामिना गर्ने मानिसलाई सरकारले कानुनअनुसार कारबाही गरेरै छाड्ने बताउनुभयो ।
उहाँले कानुन अनुसार सहकारीको रकम हिनामिना गर्नेमाथि सरकारले कारबाही गर्न खोज्दा प्रदर्शन गर्ने, अनुसन्धान प्रभावित पार्न खोज्ने काम गैरराजनैतिक भएको बताउनुभयो । ‘सहकारीको रकम अपचलन गर्नेमाथि कारबाही भएन पनि भन्ने र कारबाही प्रक्रिया अगाडि बढाउँदा प्रदर्शन गर्ने, जुलुस गर्ने काम नसुहाउने काम हो उहाँले भन्नुभयो ।’
देशभर ३१ हजार सहकारी रहेकामा सङ्घीय सरकार मातहतमा झण्डै दुई सय मात्र सहकारी रहेको बताउँदै प्रदेश र स्थानीय तह मातहतका सहकारीको नियमित अनुगमन र नियमन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । अहिले सरकारले समस्याग्रस्त सहकारीको सम्पत्ति बिक्री गरेर भएपनि छ हजार वचतकर्ताको रकम फिर्ता गरेको जानकारी उहाँले दिनुभयो ।
सहकारीमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले पहल गरिरहेको बताउँदै त्यसका लागि प्रदेश र स्थानीय सरकारसँग छलफल भइरहेको जानकारी मन्त्री अधिकारीले दिनुभयो । सहकारीमा देखिएको समस्या समाधान गर्न वचतकर्ता, लगानीकर्ता, ऋणी र सरकारको सबैको उत्तिकै दायित्व र भूमिका रहेको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो ।
उहाँले भुमीलगायत अन्य पुराना कानुन विस्थापित गर्न सरकारले नयाँ ऐन कानुन बनाउन पहल गरिरहेको बताउनुभयो । कानुन बनाउने कामको प्रक्रिया पूरा गर्दा केही समय भने लागेको उहाँको भनाई छ ।
आफूले सम्हालेको मन्त्रालयले देशभरिका पालिकालाई गरिव परिचयपत्र वितरण गर्न पठाएपनि तथ्याङ्क सङ्कलनमा भएको त्रुटीका कारण परिचयपत्र वितरणमा समस्या भएको उहाँले जानकारी दिनुभयो । जो गरिव हो, उसले परिचयपत्र नपाउने अवस्था आएपछि पुन मन्त्रालयले गरिव पहिचानका लागि अद्यावधिक गर्ने समय दिएको मन्त्री अधिकारीले बताउनुभयो ।