पाल्पा - जिल्लाकाे रामपुर नगरपालिकाले आज मंगलबार सार्वजनिक बिदा दिएको छ । हरिबोधिनी एकादशीको अवसरमा नगरपालिकाले आज विदा दिएको हो ।
रामपुर क्षेत्रका स्थानीयबासिन्दाले हरिबोधिनी एकादशीलाई धार्मिक उत्सवको रुपमा मनाउने प्रचलन रहेकाे छ । नगरपालिकाले कार्यपालिकाको निर्णय अनुसार विदा दिने निर्णय गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयाे ।
नगरपालिका मातहतका सम्पूर्ण सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी र शैक्षिक संस्था लगायतका कार्यालयमा विदा दिइएकाे छ । कालीगण्डकी नदी किनारका विभिन्न स्थानमा हरिबोधिनी एकादशीको अवसरमा मेला लाग्दै आएको छ ।
नगरपालिकाले विगतका वर्षहरुमा पनि हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक विदा दिएको थियो । ठूलो एकादशीको रुपमा लिईने हरिबोधिनी एकादशीको अवसरमा कालीनदी किनार अन्तर्गत रामपुर नगरपालिकाको केलादी घाट, रामघाट, कोप्चेघाट, तातोपानी, बर्दले, स्याउली बजार लगाएतका विभिन्न स्थानमा मेला भर्न तथा स्नानका लागि भक्तजनहरु पुग्ने गर्दछन् ।