पाल्पा - पूर्वखोला-१, सिलुवामा सन्चालित आठौं मण्डली कपको उपाधि पुरुष तर्फ निस्दी खेलकुद बिकास समिति पाल्पा र महिला तर्फ वालिङ भलिबल क्लबले हात पारेको छ ।
कार्तिक २१ गते देखि सन्चालन भएको क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा निस्दीले मणिमुकुन्द भलिबल क्लब रुपन्देही माथि ३-२ को अन्तरमा जीत निकालेको हो ।
गण्डकी प्रदेशका खेलाडीहरु समावेश गरेको निस्दीले यो जीत संगै लगातार ३ वर्ष उपाधि रक्षा गर्न सफल भएको खेलकुद सल्लाहकार संयोजक उमेश कुमार गाहाले बताउनु भएको छ । बिजेता टीमले नगद १ लाख ५० हजार र उपबिजेताले नगद १ लाख र ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा खेलमा रामपुर-१० बर्दलेले जिल्ला भलिबल संघ पाल्पालाई ३-० को सोझो सेटमा जीत आफ्नो पक्षमा पारेको थियो ।
तृतीय हुने बर्दलेले नगद ७० हजार र सान्त्वना हुने पाल्पाले नगद ३५ हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । जस अन्तर्गत निस्दीका उमेश सेन्चुरी उत्कृष्ट खेलाडी घोषित भएका छन् । विधागत तर्फ बेस्ट स्पाइकर मणिमुकुन्दका संगम श्रीस, बेस्ट सेटर मनिमुकुन्दकै दिपेश कुँवर,डिफेन्डर बर्दलेका जीत सर्की पुरस्कृत भएका छन् भने बेस्ट ब्लकरमा निस्दीका हिमाल सुनारी र सर्भरमा निस्दीकै सरोज बर्देवा पुरस्कृत भएका थिए ।
त्यसैगरी महिला भलिबल तर्फको प्रतियोगितामा उपाधि जितेको वालिङ भलिबल क्लब स्याङ्जाले नगद ३० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपबिजेता स्टेप क्लब रामपुरले नगद २० हजार प्राप्त गरेको छ । तृतीय स्थान निस्दी खेलकुद बिकास समिति पाल्पा र सान्त्वना स्थान हिमालयन टाइगर क्लब चितवनले प्राप्त गरेको छ । महिला तर्फको खेलमा वालिङका रीमा कुँवर उत्कृष्ट खेलाडी बने भने बेस्ट स्पाइकर वालिङकै एलिसा मानन्धर भएका छन् ।
बेस्ट सेटर रामपुरका मनिषा परियार,उत्कृष्ट ब्लकर निस्दीका लोकमाया बयम्बु र डिफेन्डरमा निस्दीकै लक्ष्मी सुनारी पुरस्कृत भए । पुरस्कृत टीम तथा खेलाडीहरुलाई एक कार्यक्रमकाबीच प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सांसद श्रेष्ठले खेलकुदको माध्यमबाट राष्ट्रको चिनाउन खेलाडीहरु सफल रहेको बताउनुभयो । कार्यक्रम पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले नेपालको राष्ट्रिय खेल भलिबलको बिकास मोफसलबाट नि सम्भव रहेको बताउनु हुँदै मण्डली युवा क्लबले गरेको कामको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा लोक गायक श्याम राना, रामेश्वर ढकाल, बलुमाया पुन लगायतको संगीतिक प्रस्तुति रहेको थियो । पूर्वखोला खेलकुद बिकास समितिका सचिव नवीन आचार्यले स्वागत मन्तव्य गर्नुभएको कार्यक्रमको सन्चालन सचिब कृष्ण प्रसाद पंगेनीले गर्नुभएको हो ।