पाल्पा – पाल्पाका पर्यटकीय स्थलहरूमा ‘साइकल यात्रा’ सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागि प्रचारप्रसार गर्न शुक्रबारदेखि साइकल यात्रा सुरु भएको हो ।
साइकल यात्रामा स्वदेश तथा विदेशका १५० बढी साइकल यात्री सहभागी भएका छन् । साइकल यात्रा दुई दिनसम्म हुने जिल्ला साइक्लिङ् सङ्घका अध्यक्ष रुपेश महर्जनले बताउनुभयो । पाल्पाको ऐतिहासिक एवं पर्यटकीय स्थलहरू रानीमहल, भैरवस्थान, रुरु क्षेत्र, अर्गली दरबार, पाल्पा दरबार सङ्ग्रहालय, लिस्नेभिर, देवदत्त पार्कलगायतका स्थानमा साइकल यात्री पुग्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका पर्यटकीय स्थलहरूमा गरिने साइकल यात्रामा विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुस्कर शाहसहित १५० सहभागी हुनुभएको छ । शुक्रबारदेखि सुरु भएको साइकल यात्रामा सहभागीलाई तानसेनका र रिव्दीकोटका स्थानीय बासिन्दाले स्वागत गरेका थिए ।