Erani Mahal
चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेला कार्तिक २७ देखि ३० गतेसम्म चल्ने

पाल्पा - पाल्पाको तिनाउ गाउँपालिका-४ सत्यवती मन्दिरमा कार्तिक पूर्णिमाको अवसर पारी हरेक वर्ष आयोजना हुँदै आएको मेला अर्को साताको मंगलबारदेखि सुरु हुने भएको छ । कार्तिक २७ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त मेलाका लागि तयारीलाई तिब्रता दिइएको सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

 

मेला व्यवस्थापनका लागि बुधबार मन्दिर परिसरमा सर्वपक्षीय छलफल सम्पन्न भएको छ । तिनाउ गाउँपालिकाको आयोजनामा ताल तथा मन्दिर व्यवस्थापन समिति, वडाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत सबै सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागितामा मेला व्यवस्थापन, शान्ति सुरक्षा, भक्तजनका लागि यातायात लगायतका विषमा छलफल भएको हो ।

 
 

गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले भक्तजनले दुःख नपाउने गरी व्यवस्थापनलाई चुस्त राख्न सुरक्षा निकाय, यातायात व्यवसायी, ट्राफिक प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग आवश्यक सुझावसहित सहयोगका लागि आग्रह गर्नुभयाे । मेलामा आउने भक्तजनको सहजताका लागि मन्दिरसम्म आउने मोटर बाटो मर्मत तथा सुधार गरिनुका साथै यातायात भाडादरमा समेत एकरुपमा कायम गर्ने काम भएको अध्यक्ष श्रेष्ठले बताउनुभयाे ।

 

 
 

गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले मेला व्यवस्थापन तथा शान्ति सुरक्षाका लागि शिल्ला प्रशासनसहित सुरक्षा निकायका प्रनिधिहरुसँग छलफल गरी आवश्यक समन्वय गर्ने निर्णय गरिएको उल्लेख गर्नुभयाे । मन्दिर परिसरमा लाइटिङको व्यवस्था तथा ठाउँ-ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिनुका साथै मदिराजन्य पदार्थलाई निषेधित गरिएको उनले जानकारी दिनुभयाे  । भाडादरमा एकरुपता ल्याउँदै मन्दिरसम्म पुग्नका लागि सिद्धार्थराजमार्गदेखि मन्दिरसम्म २ सय रुपैयाँ कायम गरिएको उनल जानकारी दिए । मेला अवधिमा सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने बताउँदै उनले ठाउँ-ठाउँमा ट्राफिक प्रहरी परिचालन गरी कडाईकासाथ लागू गरिने जानकारी दिनुभयाे ।

 

प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले मेलालाई सभ्य र भव्य बनाउन आवश्यक सुरक्षा गस्तिको व्यवस्था गरिएको जानकारी दिनुभयाे । मेला अवधिमा भक्तजन स्वयम्ले समेत सजगता अपनाउनु पर्ने र भिडभाडमा हराउन सक्ने भएकाले बहुमुल्य सामान तथा गरहँना नल्याउन आग्रह गर्नुभयाे । मेला अवधिमा मदिरा जन्य पदार्थ प्रयोग वा शान्ति सुरक्षा खल्बलिने गतिविधि गरेको भेटिएमा त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रण लिएर कडा कारबाही गरिने बताउनुभयाे । 

परम्परादेखि नै यहाँ चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गर्दछ । यस वर्ष जोग परेका कारण विगतका वर्षभन्दा भक्तजनको सङ्ख्या बढी हुने समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । तिहारपछिको पूर्णिमामा सत्यवती मेला लाग्ने गर्दछ भने उक्त पूर्णिमा कात्र्तिक महिनाभित्र परेमा जोग परेको मानिने प्रचलन रहेको छ । उक्त प्रचलन अनुसार जोग परेको समयमा मन्दिरमा पूजा गरेर वर मागेमा सत्यवती बजैले पूरा गरिदिने जनविश्वास रेहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गाहाले जानकारी दिए । परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ ।

 

सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा मेलामा हजारौँ भक्तजन बर माग्ने मेलामा सहभागी हुने गर्दछन् ।

 

बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन रहेको छ ।

 

यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् । यो वर्ष दुई लाखभन्दा बढी भक्तजन बर माग्नका लागि मेलामा सहभागी हुने अपेक्षा मेला व्यवस्थापन समितिले गरेको जनाएको छ ।

 
 
 
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update