पाल्पा – तानसेनमा ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक बहस कार्यक्रम हुने भएको छ । पाल्पा जेसिजको आयोजनामा यही कात्तिक २३ गते शुक्रबार पाल्पा दरबार संग्रहालय परिसरमा स्थानीय सरकारका प्रमुखसँग खुल्ला बहस कार्यक्रम हुने भएकाे हाे । जेसिजका जिल्ला अध्यक्ष जेसी अर्जुन कार्कीले स्थानीय सरकारलाई युवाको पक्षमा नीति निर्माणका लागि सहयोग पुग्ने गरी कार्यक्रम गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । स्थानीय सरकार बनेपछि जिल्लामै पहिलो पटक खुला बहसमार्फत स्थानीय सरकारलाई युवाको पक्षमा काम गर्न घच्घच्याउने प्रयास गरिएकाे उहाँले बताउनुभयो ।
कार्यक्रममार्फत सरकारले गरेका कामबारे युवामाझ जानकारी हुनेछ । साथै युवाकाे पक्षमा नीति बनाउन सहयोग पुग्ने अध्यक्ष कार्कीले बताउनुभयो । जिल्लाको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की र रैनादेवी छहरा गाउँपालिाकाका अध्यक्ष रुक्मांगत भट्टराई स्थानीय तहका प्रमुखका रुपमा सहभागी हुनुहुनेछ । यस्तै कार्यक्रमको सहजीकरण पत्रकार श्री पाण्डेले गर्नुहुने पाल्पा जेसिजका महासचिव विजय कार्कीले बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले जेसिजले रचनात्मक र सिर्जनात्मक कार्यक्रम गर्न लागेको बताउनुभयो । उहाँले स्थानीय सरकारलाई प्रश्न गर्न र सरकार प्रमुखलाई नागरिकप्रति जिम्मेवार बन्न कार्यक्रम फलदायी हुने बताउनुभयो ।
कार्यक्रम जेसिजका अध्यक्ष कार्कीको अध्यक्षता, कार्यकारी उपाध्यक्ष गणेश पन्थीको स्वागत, महासचिव विजय कार्कीको सञ्चालनमा भएको हो ।