Erani Mahal
स्वास्थ्य मन्त्रालयको उन्नाइस बुँदे उपलब्धी सार्वजनिक

पाल्पा - लुम्विनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले १९ बुँदे उपलब्धी सार्वजनिक गरेको छ । सरकार गठन भएको एक सय दिनको अवधिमा गरेका उपलब्धी मन्त्रालयले बिहीबार तानसेनमा सार्वजनिक गरेको हो । 
उपलब्धी सार्वजनिक गर्नुहुँदै स्वास्थ्य मन्त्री खेमबहादुर सारुले एक सय दिनको अबधिमा मन्त्रालय मातहत रहेका कार्यालयबाट हुने सेवाप्रवाहलाई सरल र सहज बनाउने काममा आफूले काम गरेको उल्लेख गर्नुभयो । उहाँले नीति निर्माणको तहमा भएका काम र कार्यान्वयन क्षेत्रमा भएका कामबारे पनि जानकारी दिनुभयो । 
मन्त्री सारुले प्रादेशिक अस्पतालको भवन निर्माणको काम अगाडि बढाएको, क्यान्सर, मुटुको भल्ब फेर्ने र मृगौला प्रत्यारोपणको सिफारिस जिल्लाबाटै गर्ने व्यवस्था गरेको र उक्त निर्णय कार्यान्वयनमा आएको बताउनुभयो । यस्तै महिला तथा बालबालिकामा रहेको कुपोषण घटाउन र दीगो विकासको लक्ष्य हासिल गर्न ठोस योजना बनाई कार्यान्वयन गरेको, कुष्ठरोग हात्तिपाइलेजस्ता रोगबाट प्रभावित भएकाको उचित व्यवस्थापन र हेरचाहका क्षेत्रमा कार्यक्रम अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । 
मन्त्री सारुले सरकारी अस्पतालमा हुने स्वास्थ्य परीक्षणको शुल्कमा एकरुपता ल्याउने काम भएको, मन्त्राालय मातहतका कर्मचारीहरूको स्वास्थ्य वीमाबाट सेवा पाउने व्यवस्था गरेर सरकारको आर्थिक व्यायभार कम गराएको, सरकारी चिकित्सकले निजी मेडिकलमा काम गर्न जाने विकृति हटाउन पहल थालेको उल्लेख गर्नुभयो । कोरोना महामारीका कारण मृत्यु भएर राहतमा छुटेका परिवारलाई राहत दिएको, अस्पतालहरूको भौतिक तथा व्यवस्थापकीय स्तरउन्नतिमा काम भईरहेको, स्वास्थ समाज निर्माणका लागि ५५ बुँदे कार्ययोजना अनुसार काम गरेको जानकारी उहाँले दिनुभयो । मन्त्रालयले बिरामीको अत्यधिक चाप हुने अस्पतालमा इ–टिकेटिङ्, टोकन प्रणाली, वीमा काउन्टर सेवा थप गरिएको जनाएको छ । 
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले लुम्विनी प्रदेश सरकारले सुशासन र जनतालाई सेवा दिने काममा गम्भीरताका साथ लागेको बताउनुभयो । अर्का प्रतिनिधिसभाका सदस्य नारायणप्रसाद आचार्यले जुनसुकै तहको सरकार भएपनि आफ्नो जिम्मेवारी अनुसार काम गर्ने हो भने जनतामा छाएको निरासालाई कम गर्न सकिने धारणा राख्नुभयो । 
कार्यक्रममा प्रदेशसभाका सदस्यहरू राजुप्रसाद श्रेष्ठ, इन्द्रा गहतराज, नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगर, माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र विक, राप्रपाका अध्यक्ष डुलबहादुर कुँवर, रास्वपाका कार्यवहाक सभापति सुमन गैरेलगायतले मन्त्रालयलाई सुझाव दिनुभएको थियो । healt-mantralaya-1730426751.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update