Erani Mahal
चाडपर्वका बेला पाल्पाबाट खसीबाेका निर्यात बढ्याे

पाल्पा - जिल्लाको विभिन्न स्थानबाट मासुका लागि जिल्लाबाहिर जिउँदो खसीबोकाको निर्यात हुने गरेको छ । पाल्पाको पूर्वखोला, रम्भा, निस्दी, माथागढी, तानसेन, तिनाउ रैनादेवीछहरा र रिव्दीकोट, रामपुरबाट दशैँअघि मासुका लागि खसीबोका निर्यात हुने गरेको छ । 
जिल्लाभरिबाट गतवर्ष वर्षभरिमा १९ करोड बढी मुल्य पर्ने खसीबोका निर्यात भएको थियो । यो वर्ष चाडपर्वमा मात्रै नौँ करोड बढीको खसीबोका निकासी भएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ । 
चाडपर्वको समयमा सबैभन्दा धेरै खसीबोका निर्यात हुने गरेको केन्द्रले जनाएको छ । गएको वर्ष पाल्पाका विभिन्न स्थानबाट १९ करोड बढी मुल्य पर्ने खसीबोका पोखरा, बुटवल, नारायणघाट, स्याङ्जा, तनहुँलगायतका स्थानमा निर्यात भएको थियो । यो वर्ष कृषि सहकारी संस्थाबाट मात्र छ करोड बढीको जिउँदो खसीबोका निर्यात भएको छ । अन्य व्यक्तिगत फर्म तथा समूहबाट तीन करोड बढीको खसीबोका निर्यात भएको बताइएको छ । 
पछिल्लो केहीँ दिनयता दशैँ र तिहार पर्वका लागि भनेर जिउँदो खसीबोका निर्यात हुने गरेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो । व्यवसायिक रुपमा खसीबोका पाल्ने किसानको सङ्ख्या बढेपछि खसीबोकाको मासु उत्पादन हरेक वर्ष बढेको उहाँले बताउनुभयो । उहाँले जिल्लाका लागि आवश्यकभन्दा बढी मासु पाल्पामा उत्पादन भएको छ । जिल्लाभित्र खसीबोकाको मासु खपत कम हुने भएकाले बाहिरी जिल्लामा निर्यात बढेको उहाँले बताउनुभयो । 
ग्रामीण भेगमा स्थापित भएका स्थानीय सहकारी संस्था, विभिन्न महिला समूह, ठूला पशु फर्मसँगको सम्पर्कमा जिउँदो खसीबोका लिनका लागि बाहिरी जिल्लाबाट व्यापारीहरू आउने गरेका छन् । यहाँका किसानले जिउँदो खसीबोकालाई प्रतिकिलो ५०० रुपियाँ देखि ७०० रुपियाँसम्ममा बिक्री गरेका पूर्वखोला जल्पास्थित शुभसन्देश महिला कृषि सहकारी संस्थाका अध्यक्ष चन्द्रीसरा रखालले बताउनुभयो । 
पाल्पामा हरेक वर्ष खसीबोकाको निर्यात गर्ने सहकारीको सङ्ख्या समेत बढेको छ । पछिल्लो समय झण्डै २० वटा सहकारी संस्थाले खसीबोकाको बिक्री गर्दै आएका छन् । पछिल्लो तीन वर्षयता स्थानीय तह र प्रदेश सरकारले खसीबोका उत्पादनका लागि लगानी गरेका छन् । स्थानीय तह र प्रदेश सरकारले मासुमा उत्पादनमा आधारित अनुदानले समेत व्यवसायिक बाख्रा पालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update