पाल्पा – पाल्पाका चार अस्पतालसहित एउटा डायलासिस सेन्टरका लागि अभाव भएको रगत परिपूर्ति गर्न ब्लड बैँक स्थापना अभियान चलिरहेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले ब्लड बैँक स्थापनाका लागि हालसम्म ४४ लाख ७५ हजार रकम सङ्कलन गरेको छ ।
संस्थामा आबद्ध रहेका यशस्कर सदस्यहरूबाट छ लाख, विशिष्ट सदस्यहरूबाट २२ लाख, स्मृतिकोषबाट सात लाख, विभिन्न सङ्घसंस्था र विद्यालयबाट छ लाख ८० हजार र स्वदेश र विदेशका नेपाली नागरिकहरूबाट तीन लाख ९५ हजार सङ्कलन भएको शाखाका सभापति बावुराम कार्कीले बताउनुभयो । शाखाले ‘हाम्रो बल्ड बैँक, हामी बनाउँछौँ’ अभियानबाट हालसम्म ४४ लाख ७५ हजार रुपियाँ रकम सङ्कलन गरेको अध्यक्ष कार्कीले बताउनुभयो ।
ब्लड बैँक स्थापनाको भवन निर्माण गर्न तानसेन–१, भुँसलडाँडामा नौँ आना जग्गा पाल्पा लायन्स क्लबको सहयोगमा प्राप्त गरिसकिएको उहाँले बताउनुभयो । भवन निर्माणका लागि शहरी विकास मन्त्रालयबाट चालु आवमा एक करोड ५३ लाख रुपियाँ विनियोजन भइसकेको छ । साथै ब्लड बैँकमा आवश्यक पर्ने स्वास्थ्य उपकरण खरिदका लागि स्वास्थ्य मन्त्रालयबाट ५० लाख रुपियाँ विनियोजन भएको शाखा उपसभापति भीमसेन कार्कीले बताउनुभयो । त्यसका लागि पनि काम भइरहेको कार्कीले बताउनुभयो ।
ब्लड बैँक दीगो रुपमा सञ्चालनका लागि कोष र पूर्वाधार निर्माण गर्न छ करोड रुपियाँ खर्च हुने अनुमान गरिएको महामन्त्री केशवराज नेपालले बताउनुभयो । ब्लड बैँक स्थापनाका लागि पाल्पाका दुई नगरपालिकाबाट १०÷१० लाख रुपियाँ र आठ वटा गाउँपालिकाबाट पाँच÷पाँच लाख रुपियाँ सहयोग प्राप्त हुने भएको छ ।