Erani Mahal
ओके बाजेलाई रामपुरमा सम्मान

पाल्पा - ८५ वर्षकाे उमेरमा पनि समाजसेवामा सक्रिय जापानी नागरिक काजुमासा काकिमी (ओके बाजे) लाई रामपुरमा सम्मान गरिएको छ । विगत तीन दशक देखि पाल्पाको दुर्गममा बसेर जिल्लाकाे सामाजिक सेवामा सक्रिय ओके बाजेलाई पाल्पाका नागरिकले सम्मान गरेका हुन् । 

पाल्पा र नवपुर जिल्लाका आठ स्थानीय तहले सम्मान गरेका हुन् । यस्तै दुईसय बढी संघ संस्थाले रामपुर नगरपालिका–७ किसानबारीमा कार्यक्रम गरी संयुक्त रुपमा अभिनन्दन गरेको हाे । अभिनन्दनको अवसरमा २०६१ सालमा ओके बाजेको सम्मानमा यहाँका संघ संस्थाले किसानबारीमा निर्माण गरेको ओके बाजे मिटेरी पार्कको जीर्णउद्धार गरी ओके बाजे र उहाँ गाउँगाउँमा पुग्ने क्रममा भेटिएका तीन बालक सहितको पूर्णकदको प्रतिमा निर्माण गरिएकाे थियाे ।  Messenger_creation_D24A332D-45D0-452E-9FC7-FEDF150195A7-1729473755.jpeg
 

साे प्रतीमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले अनावरण गर्नुभयाे । उहाँले बाजेलाइ दोसला ओढाई अभिनन्दन पत्र प्रदान गर्नु भयाे ।  

 

मन्त्री सारुले ओके बाजेले निरन्तर निःस्वार्थ भावका साथ जिल्लाको ग्रामीण क्षेत्रका बस्तीको उत्थानको लागि महत्वपूर्ण योगदान दिनुभएको बताउनुभयो । उहाँले दिनुभएको योगदानको शब्दमार्फत वर्णन गर्न नसकिने बताउनुभयो । सारुले सामाजिक संघ संस्थाहरु संग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

 

सम्मान ग्रहण गर्दै ओके बाजेले  पाल्पाली जनताको मायाँ र साथले सामाजिक क्षेत्रमा अघि बढ्न प्रेरित गरेको बताउनुभयो । ३० वर्ष अघि केही दिनको लागि नेपाल आएर घुम्ने क्रममा एउटा गाउँ पुग्दा धेरै समस्या देखिए पछि केही गर्न सकिन्छ भनेर आफु लागेको बताउनुभयो । उहाँले शरीरले साथ दिए सम्म जापान फर्किने इच्छा नभएको बताउँनुभयो । ‘गाउँकै जनताको सेवा गर्ने मन छ । किन की मेरो मन पनि खुशी हुन्छ । गाउँका जनताको पनि उहाँले भन्नुभयाे ।

’ओकेबाजे नागरिक अभिनन्दन एवं सम्मान कार्यक्रम मूल आयोजक समितिका संयोजक भीम विश्व भट्टराईले ओके बाजेले ३० वर्ष अघि देखि अनवरत रुपमा पाल्पाको ग्रामीण बस्तीमा दिनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै नागरिकस्तर बाट अभिनन्दन गरिएको बताउनुभयो । उहाँले १५ लाखको लागत अनुमानका पार्कको जिर्णउद्धार तथा बाजेको शालिक निर्माण गरिएको जानकारी गराउँदै उहाँको दिर्घजीवनको कामना गर्दै यस पटक कार्यक्रम गरिएको बताउनुभयो ।

 

 

सम्मानका लागि पाल्पाको रामपुर नगरपालिका, तानसेन नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, नवलपुरको हुप्सेकोट गाउँपालिका र मध्यविन्दु नगरपालिका संगै २ सय भन्दा बढी संघसंस्थाले कार्यक्रममा सहभागीता जनाएकाे छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापासंगै पाल्पा र नवलपुरका स्थानीय तहका जनप्रतिनिधिहरु सहित जापान स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । साथै आठ वटै पालिका प्रमुख सहित विभिन्न संघ संस्थाहरुले सम्मान पत्र सहित फुलमाला र दोसला ओढाउनुभयाे । 

अभिनन्दनको अवसरमा नेपाली लोक संस्कृति झल्कने पञ्चेबाजा, लाखेनाच, कौरा, झ्याउरे लगाएतका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । साथै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनी, मोहन खड्का र जापानी गायिका मारिको सुजुकीको प्रस्तुती समेत रहेको थियो । अभिनन्दन पूर्व झाँकी सहित ओके बाजेलाई रामपुर नगर परिक्रमा गराईएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update