Erani Mahal
सराय नाचेर दसैँलाई बिदाई

पाल्पा – सराय नाचेर यस वर्षको बडा दसैँलाई बिदाई गरिएको छ । पाल्पाका विभिन्न स्थानका कोटघर, देवी मन्दिरमा सराय नाचेर यस वर्षको दसैँलाई विदाई गरिएको हो । 
कोटघर तथा मन्दिरमा घटस्थापनादेखि सुरु भएको दुर्गा, देवी, भगवतीको पूजा सराय नाच नाचेपछि विसर्जन गर्ने प्रचलन रहेको छ । यस्तो प्रचलन परम्परादेखि नै चल्दै आएको स्थानीय बासिन्दा बताउँछन् । देवीका मन्दिर तथा कोटघरमा पूजा विसर्जनको दिन मन्दिरभित्र रहेका खुँडा, भाला, तरबार, ढाल, खुकुरीलगायतका हतियार नचाएर सराय नाच्ने प्रचलन रहेको छ ।  मन्दिर तथा काेटघरमा राखिएकाे जमारा, टीका पनि साेही दिन नजिककाे नदी, खाेलामा सेलाउने प्रचलन रहेकाे छ । 
दसैँको अन्तिम दिन अर्थात कोजागत पूर्णिमाको दिन पाल्पाको लिपिनदेवी, मुझुङमा हतियार जुधाउने (नचाउने) नाच नाचिएको छ । यस्तै बौघागुम्हा, ख्याहामा पनि सराय नाचिएको छ । स्थानीय बासिन्दा पन्चे बाजाको तालमा वाख्खै भन्दै खुँडा, भाला, तरबारसहित नाचेपछि देवी मन्दिरको पूजा स्थगन गरिएको हो । 
सराय नाचले विगतको युद्धअभ्यासको रुपमा समेत लिने गरिन्छ । बाइसे–चौबिसे राज्यका बेला देवी मन्दिर, कोटघरमा शक्ति प्रदर्शन वा युद्धअभ्यास गर्ने प्रचलन रहेको जानकारहरू बताउँछन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update