Erani Mahal
तानसेनकाे दशैँ घरमा फुलपाती भित्र्याइयाे

पाल्पा – तानसेन-४, सिल्खानटाेलमा रहेकाे दशैँ घरमा फुलपाती भित्र्याइएको छ । बडा दशैँको  सप्तमी पर्वको अवसर पारेर तानसेन–४, सिल्खानटोलमा रहेको दशैँघरमा फुलपाती भित्र्याइएको हो । तत्कालिन पाल्पा राज्यका तैनाथवाला कर्णेल उजिरसिंह थापाले वि.स. १८७१ सालदेखि दशैँघरमा फूलपाती भित्र्याउने परम्परा बसाल्नुभएकाे थियाे ।  साेही बेलादेखि यहाँको दशैँघरमा २१० वर्षअघिदेखि फुलपाती भित्र्याउने परम्परा रहेको छ । 
दशैँ घरमा नेपाली सेना सहितको टोलीले केराको पात, अदुवा, दारिम, बयर र विभिन्न जातका फुललाई बाजागाजासहित भित्र्याएका थिए । दशैँघरमा पुलपाती भित्र्याएपछि जिल्लाका विभिन्न स्थानमा रहेका कोटघर, देवीका मन्दिर, थुम्का, थपनामा फुलपाती भित्र्याउने परम्परा रहेको छ ।फुलपाती लिन नेपाली सेना, प्रहरी र मन्दिरका पुजारी दरबार परिसरमा रहेको दशैँघरबाट बाजागाजा सहित नेपाली सेनाको टुंडिखेलस्थित व्यारेकमा पुगेका थिए ।

व्यारेकबाट ल्याएको फुलपाती विषेश पूजासहित दशैँघरमा भित्र्याइएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनुभयो । फुलपाती भित्र्याउँदा प्रशासनका कर्मचारी, प्रहरी, पुजेरी, नेपाली सेनाको टोली सहभागी हुने प्रचलन रहेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update