Erani Mahal
बगनासकालीको वडावडामा गएर सामाजिक सुरक्षा भत्ता वितरण

पाल्पा -  बगनासकाली गाउँपालिकाले वडातहमा सञ्चालन सामाजिक सुरक्षा भत्ता सहितको निःशुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न गरेको छ ।

 

असोज १३ गतेदेखि सञ्चालन गरेको वडास्तरीय घुम्ती सेवाबाट सामाजिक सुरक्षाभत्तातर्फ १७४४ जना र स्वास्थ्य शिविरतर्फ ५६२ जनाले सेवा लिएका छन् । गाउँपालिका सामाजिक सुरक्षा शाखाले उपलब्ध गराएको जानकारी अनुसार असोज १३ गतेदेखि २२ गतेसम्म १७४४ जेष्ठ नागरिक, दलित जेष्ठ, जेष्ठ एकल, विधवा आर्थिक सहायता, क वर्गका पूर्ण अपाङ्गता, ख वर्गका आंशिक अपाङ्गता र दलित बालपोषण प्राप्त गर्ने लाभग्राहीलाई १ करोड ५५ लाख ४१ हजार १ सय ७१ रुपैंया वडा तहमै पुगेर बैंकमार्फत वितरण गरिएको हो ।

 

नागरिकको सहज, सर्वसुलभ सेवाप्रवाहको लागि वडातहमा सामाजिक सुरक्षा भत्ता वितरणलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले जानकारी दिनुभयो । उहाँले शिविर सञ्चालनमा सहयोग र समन्वय गर्ने सवैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत नागरिकको सहजताको लागि वडातहमै विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । मुख्य चाडपर्व नजिक आएकोले लाभग्राहीलाई पर्व मनाउन सहज होस भन्ने उद्देश्यले जिल्लामै सवैभन्दा पहिला सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाका अनुसार नेपाल बैंकसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका नागरिकप्रति लक्षित गर्दै सामाजिक सुरक्षा वितरण र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

 

‘असक्त, अपाङ्गता भएका जनतालाई गाउँपालिकाले सहज सेवा सुविधा दिन वडा–वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो’ पवक्ता थापाले भन्नुभयो, ‘यस कार्यबाट जनतामा स्थानीय सरकारको अनुभूति भएको छ ।’ नेपालबैंकसँगको समन्वयमा बगनासकाली गाउँपालिकाका सामाजिक सुरक्षा शाखा, वडातहमा कार्यरत कर्मचारी, स्वास्थ्यतर्फका कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतले सामाजिक सुरक्षा भत्ता र निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा सहयोग गर्नुभएको सामाजिक सुरक्षा शाखा प्रमुख भोजराज भट्टराईले जानकारी दिनुभयो ।

 

उहाँले गाउँपालिकामा प्रथम त्रैमासिकमा ३ हजार १ सय ४५ जना सामाजिक सुरक्षा भत्ता खान योग्य लाभग्राही रहेको बताउनुभयो । गाउँपालिकाका लेखा शाखा अधिकृत कोशलराज पौडेलले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा ३ करोड १४ लाख ५३ हजार ४ सय ११ रुपैंया असोज १२ गतेनै लाभग्राहीको खातामा जम्मा भएको जानकारी दिनुभयो ।

 

 

योसँगै गाउँपालिकाले कार्यविधि तयार गरी ग र घ वर्गका लागिसमेत मासिक निर्वाह भत्ताको व्यवस्था गर्दै आएको गाउँपालिकाले जानकारी दिएको छ ।

 

दशैंकाे शुभकामना विज्ञापनहरु 

 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update