पाल्पा – जिल्लाको रिव्दीकोट गाउँपालिकाले सरकारी सवारीसाधनको दुरुपयोग रोक्ने निर्णय गरेको छ । पालिका मातहतका कर्मचारी र जनप्रतिनिधि पाउँदै आएको सरकारी सुविधाको सवारीसाधन कार्यालय प्रयोजनमा बाहेक अन्य बेला प्रयोग नगर्ने पालिकाले जनाएको छ ।
विदाका बेला पालिकाको कामले अत्यावश्यक परी सवारी चलाउन परे प्रशासनको स्वीकृति लिएर मात्र सरकारी सवारीसाधन चालाउने पालिकाले निर्णय गरेको छ ।
यस्तै पालिकाले दशैँलगायतका चाडपर्वमा पनि सरकारी सवारीसाधन चलाउन नपाउने निर्णय गरेको छ । पालिकाको कर्मचारी र जनप्रतिनिधि तीन दिनभन्दा बढी विदा वा काजमा बसेमा सवारीसाधन पालिकाको जिन्सी शाखामा बुझाउनुपर्ने पालिकाले निर्णय गरिएको पालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिनुभयो । पालिकाले गरेको निर्णय कार्यान्वयनमा अटेर गर्ने व्यक्तिलाई सवारी साधन सुविधा उपलब्ध नगराउने पालिकाको भनाई छ ।
पाल्पामा सरकारी सवारी दुरुपयोग बढ्दो
पछिल्लो समय पाल्पाका सरकारी कार्यालय र स्थानीय तहमा रहेका सरकारी सवारीसाधनको व्यापक दुरुपयोग भएको गुनासो आएको छ । जनप्रतिनिधि र कर्मचारीले सरकारी सवारीसाधन व्यक्तिगत काम, आफ्नो घरमा जान आउन, विवाह, भोज, पार्टी तथा व्यक्तिगत काममा दुरुपयोग गरेको गुनासो बढेको छ । प्रशासनको स्वीकृतिविनै मनपरी सरकारी सवारीसाधन चलाएको आरोप सर्वसाधारणको छ ।
कतिपय कर्मचारीले र जनप्रतिनिधिले सरकारी काममा भन्दा व्यक्तिगत लाभमा सरकारी सवारीसाधन दुरुपयोग गरेको पाइएको छ । प्रहरी प्रशासन र स्थानीय तहले भने सरकारी सवारीसाधन दुरुपयोग रोक्न कुनै पहल नगरेको सर्वसाधारणको गुनासो छ ।