Erani Mahal
तानसेनमा तीन वर्षदेखि 'एक वडा, एक किलाेमिटर' कालाेपत्रे सडक अलपत्र

पाल्पा - ग्रामीण क्षेत्रका सडक कालोपत्रे गर्ने काम तीन वर्षदेखि अलपत्र बनेको छ । तानसेन नगरपालिकाले तीन वर्षअघि ‘एक वडा, एक किलोमिटर कालोपत्रे सडक’ गर्ने काम थालेपनि ठेकेदारको बदमासीले केही वडाका सडक अलपत्र बनेका छन् । 
तानसेनका अन्य सात वटा वडामा सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ । बनेर सकिएका कतिपय सडक जीर्ण भइसकेको छ । तर तानसेन–१२ र १३ नं. वडाको सडकको काम तीन वर्षमा पनि पूरा भएको छैन । निर्माण व्यवसायीको लापरबाहीले दुई वडाको एक हजार चार सय मिटर सडक कालोपत्रे हुन सकेको छैन । 
वि.स. २०७८ असार ३० गते एक वर्षभित्र काम सक्ने गरी साइन कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएपनि तीन वर्षमा पनि काम अलपत्र बनेको हो । तानसेन वडा नं. १२ को वडा कार्यालयदेखि लुहुङ् जाने बाटो र वडा नं. १३ को वडा कार्यालयदेखि छेर्लुङ् जाने बाटोको ठेक्का सम्झौता भएपनि अहिलेसम्म काम अधुरै रहेको नगरपालिकाले जनाएको छ । 
सोही ठेक्काको तीन पटकसम्म म्याद थप गरेर २०८१ असार मसान्तभित्र काम सक्ने गरी म्याद थप गरिएको थियो । यद्यपी ठेकदारले म्याद गुज्रिदा पनि काम नसकेको नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताउनुभयो । दुई वर्षअघि नै कालोपत्रे गर्नुपर्ने सडक निर्माण व्यवसायीका कारण ढिलाई भएको उहाँले बताउनुभयो । 
दुई वडाको एक हजार चार सय मिटर सडक कालोपत्रे गर्नका लागि एक करोड एक करोड २३ लाख तीन हजार ३४७ रुपियाँमा ठेक्का भएको थियो । त्यसमध्ये हालसम्म ३० प्रतिशतभन्दा बढी काम भएको छ । नगरपालिकाले हालसम्म ४६ लाख ४९ हजार रुपियाँ भुक्तानी गरेको नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले जानकारी दिनुभयो । काम समयमै सक्नका लागि पटक–पटक ताकेता गरेपनि निर्माण व्यवसायीले अटेर गर्दै आएको उहाँले बताउनुभयो । 461840238_1590823798311267_5798611258405527429_n-1728231602.jpg

कालोपत्रे गर्ने काम समयमै नहुँदा यस भेगका स्थानीय बासिन्दाले दैनिक सास्ती बेहोर्दै आएका छन् । सडक निर्माण एक वर्षभित्रै हुन्छ भन्ने भएपनि तीन वर्ष बितिसक्दासमेत काम नसकिएको स्थानीय बासिन्दाको गुनासो छ । सडक कालोपत्रे नहुँदा हिउँदमा धुलाम्ये र वर्षात्मा हिलाम्य भएरै यात्रा गर्न बाध्य भएको तानसेन–१२ का स्थानीय बासिन्दाले बताएका छन् ।
यसअघिका नगरप्रमुखले निर्माणको शिलान्यास गर्नुभएको सडक अर्का नगरप्रमुख आएको अढाई वर्षमा पनि पूरा नहुँदा यात्रुले सास्ती बेहोर्नु परेको छ । काम नगर्ने निर्माण व्यवसायीलाई नगरपालिकाले कानुनअनुसार कडा कारबाही गर्न सकेमात्र नगरमा विकासले गति लिने यस भेगका स्थानीय बासिन्दा बताउँछन् । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update