तानसेन - पाल्पामा बर्सेनि सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षको अबधिमा सवारी दुर्घटनामा परी १०४ जनाले यात्रुले ज्यान गुमाएका छन् ।
पाल्पामा गत आव २०८०/०८१ मा ४० जना यात्रुले सवारी दुर्घटनाका कारण ज्यान गुमाएका छन् । जबकी अघिल्लो आव २०७९/०८० मा ३९ जनाले ज्यान गुमाएका थिए ।
यस्तै आव २०७८/०७९ मा २५ जनाले ज्यान गुमाएका थिए । गत आवमा २२ वटा सवारी ज्यान मुद्दा दर्ता गरिएको छ ।
प्रहरीका अनुसार हरेक वर्ष दुर्घटनामा परी मृत्यु हुने मानिसको सङ्ख्या पनि बढेको छ । बर्सेनि दुर्घटना बढ्दै जाँदा घाइते र अपाङ्गता हुने यात्रुको सङ्ख्या पनि बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सवारी दुर्घटना बढ्नुमा मुख्य कारण चालकको लापरबाही देखिएको छ । चालकले लापरबाही गर्दा नै बढी दुर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताउनुभयो । चालकले मादक पदार्थ सेवन गरेर सवारी हाक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, समय–समयमा सवारीसाधनको चेकजाँच नगर्ने जस्ता कारणले दुर्घटना बढेको उहाँले बताउनुभयो ।
यस्तै प्राविधिक रुपमा उपयुक्त नभएका सडकमा सवारी गुडाउँदा दुर्घटना हुने गरेको छ । सवारीसाधनको क्षमता नहरी उकालो, भिरालोमा सवारी चालाउँदा, नयाँ चालकलाई बाटोको बारेमा जानकारी नहुँदा, अप्ठेरो मोडमा सवारीसाधन जबर्जस्ती हाक्दा दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाई छ । पछिल्लो समयमा व्यक्तिगत सवारीसाधनको सङ्ख्या बढ्दा पनि दुर्घटनाको सङ्ख्या बढेको छ ।
अहिले व्यक्तिगत सवारीसाधन बढेका कारण मोटरसाइकल, कार, जिप दुर्घटना बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीले निरन्तर गस्ती, चेकजाँच, चालकलाई प्रशिक्षण सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । यद्यपी प्रहरीको सङ्ख्या कम भएकाले पनि सबै स्थानमा पहुँच पु¥याउन समस्या रहेको उहाँको भनाई छ । दुर्घटना न्युनीकरण गर्न प्रहरीले दुर्घटना न्युनीकरण गर्न लापरबाही गर्ने चालकमाथि सवारी ज्यान मुद्दा दर्ता गर्ने गरेको प्रहरीले जनाएको छ ।