तानसेन – एक दशकमा पनि माडी चक्रपथले पूर्णता पाएको छैन । पाल्पाको माडी क्षेत्रको तानसेन, बगनासकाली, रम्भा र माथागढी गाउँपालिकाका विभिन्न वडा जोड्ने गरी माडी चक्रपथ निर्माण सुरु गरिएपनि त्यसले पूर्णता पाउन नसकेको हो ।
वि.स. २०६९ सालमा तत्कालिन मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले अघि सारेको माडी चक्रपथको काम अलपत्र बनेको हो । चक्रपथ निर्माण गर्ने ठेकेदारको लापरबाही र सम्बन्धित कार्यालयको लापरबाहीले चक्रपथ एक दशकमा पनि पूरा हुन नसकेको हो । चक्रपथको काम २०७१ सालदेखि सुरु गरिएको थियो ।
चार पालिकाको सात किलोमिटर सडक निर्माण गर्ने गरी चक्रपथको योजना अघि बढेको थियो । पाल्पाको अन्नभण्डारको रुपमा रहेको माडी क्षेत्रको वरपर सडक बिस्तार गरेर बस्ती निर्माण गर्ने र धानखेत जोगाउने योजना थियो । यस्तै सडक निर्माणसँगै बस्ती विकास गरेर बसाइसराई रोक्ने योजनाको रुपमा लिइएपनि चक्रपथले गति लिन नसकेको तानसेन–९ का वडाअध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो ।
नौँ वर्षअघि कोशी एण्ड न्यौपाने ओम साइ कन्ट्रक्सन प्रालिले ६ करोड २ लाखमा ठेक्का लिएर काम सुरु गरेको थियो । तर उक्त ठेकेदारले कामै नगरेपछि कारबाही गरिएको थियो । माडी चक्रपथको दुई÷तीन किलोमिटर सडक बिस्तार, नाली निर्माण र ग्राभेल गर्ने काम भएपनि थप काम अगाडि बढ्न नसकेको वडाअध्यक्ष अर्यालले बताउनुभयो । सङ्घीय सरकार अन्तर्गत रहँदासम्म सडक निर्माणले प्राथमिकता पाएपनि पछिल्लो समय सडकको काम हुनै नसकेको स्थानीय बासिन्दाको भनाई छ ।
केही वर्षअघि यस भेगका स्थानीय बासिन्दाले चक्रपथ क्षेत्रमा ११ मिटर चौडाा सडक बनाउन जग्गा दिएका थिए । त्यसपछि डोजरले सडक फाराकिलो पारेपछि काम हुन नसकेको माथागढी–१, चिदीपानीका स्थानीय बासिन्दा शिवप्रसाद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘माडी चक्रपथ बनाउन भनेर एक दशकअघि जग्गा दिइयो तर सडक खनेर अझै पूरा भएको छैन ।’ यो वर्ष उक्त क्षेत्रको सडक निर्माणको लागि एक करोड ६२ लाख रुपियाँ विनियोजन भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
कार्यालय प्रमुख रामपुकार जैसवालले स्थलगत निरीक्षण गरेपछि चक्रपथ निर्माणको कामलाई अगाडि बढाएकाे जानकारी दिनुभयो । सडक निर्माण नहुँदा यस भेगका सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । एक दशकसम्म सडक निर्माण नहुँदा सर्वसाधारण निरास बनेको माथागढी–१ का वडाअध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । जिल्लाकै गौरवको योजना भएपनि चक्रपथ निर्माणले प्राथमिकता नपाउँदा सर्वसाधारणले यात्रा गर्न दुःख बेहोर्नु परेको उहाँले बताउनुभयो ।