पाल्पा – जिल्लामा समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तरगत तानसेन बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, व्यवसायीहरुबीचको समन्वयमा यात्रु सहायता कक्षा संचालन गरिएको हो ।
बडादशैं, दिपावली र छठपर्वको अवसरमा यात्रुको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालयलगाएतको सहकार्यमा यात्रु सहायता कक्ष सुरु गरिएको हो । कक्षको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले उद्घाटन गर्नुभयो । उहाँले चाडपर्वको अवसरमा कुनै पनि यात्रुहरु ठगिनबाट जोगिन तथा समस्या परेमा प्रहरीहरुलाई खबर गर्न समेत आग्रह गर्नुभयो ।
चाडपर्वको अवसरमा क्षमता भन्दा बढी यात्रु बोक्ने र बढी भाडा असुल्ने गुनासो समेत आउने बताउँदै उहाँले यस्तो गुनासो नआउने गरेर काम गर्न यातायात व्यवसायीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख, वडा अध्यक्ष सागर मर्हजन लगायतको सहभागिता रहेको थियो ।