Erani Mahal
जेष्ठ नागरिककाे आँखा परीक्षण र लठ्ठी वितरण

पाल्पा - अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ज्येष्ठ नागरिक मिलन केन्द्र तानसेन ९ दमकडाले ६८ वर्ष माथिका बा-आमालाई लठ्ठी वितरण तथा आँखा परीक्षण गरेको छ । कार्यक्रममा वडाभित्रका १ सय ६१ जना ज्येष्ठ नागरिकलाई सुरक्षा सहाराका लागि लठ्ठी वितरण र आँखा उपचार गरिएको केन्द्रका अध्यक्ष फर्सुराम पाण्डेयले बताउनुभयो ।461264594_27909030078696345_3180033746667113586_n-1727795651.jpg
 

समाजसेवी पदम रानाले ६८ वर्ष माथिका नागरिकका लागि २ सय ५० वटा लठ्ठी वडाअध्यक्ष राजेशकुमार अर्याललाई र अर्यालले उक्त लठ्ठी ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष फर्सुराम पाण्डेयलाई हस्तान्तरण गर्नुभएको समाजसेवी डेन्जिङ रायमाझीले जानकारी दिनुभयो । ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक तथा विश्व दृष्टि दिवसको अवसर पारेर आँखा परीक्षण गर्दा १२ जनालाई मोतीविन्दु र ४ जनालाई मासु पलाएको देखिएकाले शल्यक्रियाका लागि रेफरल गरिएको नेपाल नेत्रज्योति संघका सचिव राजेन्द्र लिगलले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशिका गैरेले ज्येष्ठ नागरिकहरूसँग ज्ञान, सिप तथा अनुभव रहेको र त्यो ज्ञानलाई समुदायमा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको सुरक्षा र अधिकारका लागि यस्ता कार्यक्रम गरिरहनुपर्नेमा जोड दिनुभयो । तानसेन ९ का वडाअध्यक्ष राजेशकुमार अर्यालले ज्येष्ठ नागरिक मिलन केन्द्रलाई ज्येष्ठ नागरिक स्रोत केन्द्रका रूपमा विकास गरी उहाँहरूको क्षमतालाई राष्ट्र निर्माण र समाज रूपान्तरणमा लगाउन खोजिएको बताउनुभयो ।461869964_398182626661023_3040944286606468481_n-1727795690.jpg
 

उहाँले ज्येष्ठ नागरिकको सहज जीवनयापन र सम्मानपूर्ण बाँच्न पाउने हकको सुनिश्चितताका लागि निरन्तर खबरदारीको खाँचो औंल्याउनुभयो । नेपाल नेत्रज्योति संघ पाल्पाका अध्यक्ष बुद्धिप्रसाद शर्माले ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार र सहज पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । वगनासकाली २ पोखराथोकका समाजसेवी पदम रानाले जेष्ठ नागरिकहरूकै आशिर्वादले आफू यो स्थानमा आएको र उहाँहरूलाई सहयोग र सहायता गर्न पाउँदा आभारी रहेको बताउनुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक वासु घिमिरे, श्याम कार्कीलगायतले मञ्चको कार्यक्रमप्रति प्रशन्ननता व्यक्त गर्नुभयो । कार्यक्रम ज्येष्ठ नागरिक मिलन केन्द्रका सचिव प्रेमराज पंगेनीको सञ्चालन र अध्यक्ष फर्सुराम पाण्डेयको अध्यक्षतामा चलेको थियोे । यस वर्ष ज्येष्ठ नागरिक दिवसको नारा `ज्येष्ठ नागरिकको सम्मान: विश्वमा ज्येष्ठ नागरिकहरुको हेरचाह र सहयोग गर्ने प्रणालीलाई सबल पार्न जरुरी छ´ रहेको थियोे ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update