पाल्पा – देशभर परेको अविरल वर्षाका कारण पाल्पा सहित देशभरको जनजीवन प्रभावित भएको छ ।
लगातारको पानीको कारण ग्रामिण सहित राजमार्गहरु अवरुद्ध हुन पुग्दा जनजीवन कष्टकर बन्दै गइरहेको छ । पाल्पा बुटवल सडक सिद्धार्थ राजमार्गको केराबारी खण्डमा ठूला ढुङ्गासहितको पहिरो गएकाले सडक अवरुद्ध छ । सडक विभागले ह्ववीललोडर तथा ब्याकलोडरको प्रयोग गरेर सफा गर्ने काम शुरु गरे पनि अधिक वर्षा र रात भएका कारण शनिबार दिउँसोसम्म सडक सुचारु गर्न सकिने सम्भावना रहेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।
यसै गरी तानसेन रिडी, रिडी तम्घास अन्तर्गत लघुवा,जोर्ते, अर्गलीका विभिन्न स्थानमा ढुङ्गा खसेका कारण सडक अवरुद्ध भएका छन । रिडीको रातामाटा, थोर्गा, वलेटक्सार, श्रृंगा, छत्रकोट, गुल्मीदरवार र आसपारका क्षेत्र र खर्ज्याङ्ग, मुसिकोट र रुद्रवेणी वामी र आसपासका ग्रामिण सडक प्रायः सबै अवरुद्ध भएका छन् ।
रिडी, रानीघाट, पाल्पाको केलादीघाट, वडीघाट, रुद्रवेणी र आसपासका नदी तटिय क्षेत्रमा नदीका वहावले खतराको रेखा पार गरेकाले सचेत रहन स्थानीय सरकार र प्रशासनले आग्रह गरेका छन् ।
स्थानीय सरकार, सडक विभाग समेतको पहलमा ठाउँ– ठाउँमा पहिरो सफा गर्ने र सडक सुचारु गर्ने काम समेत भई रहेको छ ।
देशका विभिन्न स्थानमा ३० घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भई रहेको छ, भने पश्चिम नेपालका धेरै जिल्लाको जनजीवन अस्त व्यस्त भएको छ । खराब मौसमका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहानसम्मका सबै आन्तरिक उडान रद्द गर्ने निर्णय गरेको छ ।
मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिन थालेपछि तल्लो तटीय क्षेत्र डुबानको जोखिममा परेको छ । यस्तै कालीगण्डकी, तिनाउ, त्रिसुली, कोशी, गण्डकी लगायतका नदी डुवान क्षेत्रको जनतालाई सर्तक रहन र अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन विपत जोखिम न्यूनिकरण प्राधिकरणले अनुरोध समेत गरेको छ ।