Erani Mahal
पाल्पाका दश स्थानीय तह र १८ सरकारी कार्यालयको समीक्षा

पाल्पा – पाल्पाका स्थानीय तह र सरकारी कार्यालयहरूको वार्षिक समीक्षा तथा प्रगति प्रतिवेदन प्रस्तुतीकरण सकिएको छ । जिल्लाका दश स्थानीय तह र १८ वटा सरकारी कार्यालयहरूको वार्षिक प्रगति प्रस्तुतीसँगै समीक्षा सकिएको हो । जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा बुधबार र बिहीबार तानसेनमा भएको समीक्षा कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त, नीति दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितिका सभापति ठाकुर गैरेले स्थानीय तहले परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । 
प्रमुख अतिथिसमेत रहनुभएका गैरेले जनप्रतिनिधिले चुनावका बेला घोषणा गरेको घोषणापत्र र पालिकाको आवश्यकतालाई मध्यनजर गर्दै देखिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घ र प्रदेश सरकार मातहत रहेका कार्यालयले सरकारले अघि सारेका नीति, कार्यक्रमलाई इमानदारपूर्वक कार्यान्वयन गरेर नागरिकमा देखिएको निरासालाई चिर्न सक्रिय रहनुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रमका विशिष्ट अतिथि प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्यले स्थानीय सरकारप्रति जनताको धेरै आशा र भरोसा रहेकाले आफ्नो क्षेत्राधिकार चिनेर काम गर्न सुझाव दिनुभयो । जिल्ला समीक्षामा पालिकाले अघि सारेको नीति तथा कार्यक्रमको आधारमा सबै स्थानीय तहले वर्षभरि गरेका काम देखाउन नसकेको उहाँको भनाई छ । पालिका र जनप्रतिनिधिले काम गर्दा देखिने र भेटिने गरी काम गर्न नसके त्यसको औचित्य नहुने धारणा उहाँले राख्नुभयो । प्रदेश र सङ्घीय मातहतका सरकारी कार्यालयबाट सञ्चालित ठूला योजनामा अनुगमन समिति र सहयोग समिति गठन गरेर कामलाई पारदर्शी र प्रभावकारी बनाउन सकिने धारणा उहाँले राख्नुभयो । 
यस्तै जिल्लास्थित रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जिल्लाको समग्र विकासका लागि आलोचनाभन्दा सुझाव दिन सबैलाई आग्रह गर्नुभयो । बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले आफूहरूले यस्ता समीक्षा कार्यक्रम पालिकामा गरेको र छोटो समयमा उपलब्धी प्रस्तुत गर्न नसकेको जिकिर गर्नुभयो । 
पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले आफूले जनताले सहज रुपमा सेवा पाउनुपर्छ भन्ने मान्यता राखेर काम गरेको बताउनुभयो । जिल्लास्थित सरकारी कार्यालयको खर्च र प्रगति विवरण देशको समग्र अवस्थाको तुलनामा राम्रो भएपनि आगामी दिनमा अझ राम्रो गर्न सबै सक्रिय रहन उहाँले आग्रह गर्नुभयो ।IMG20240911105746-1726153908.jpg

नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले स्थानीय सरकारले रोजगारी सिर्जना गर्ने काममा ध्यान दिन नसकेको बताउनुभयो । आम नागरिकमा चरम निरासा बढेको भन्दै उहाँले सरकारी निकाय र जनप्रतिनिधिहरू जनताको अपेक्षा अनुसार अघि बढ्न उहाँले आग्रह गर्नुभयो । नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले जनप्रतिनिधि र कर्मचारीले जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले खानीबाट आउने रोयल्टीलाई व्यवस्थित बनाएर पालिकाले आन्तरिक आम्दानी वृद्धि गर्न सुझाव दिनुभयो । नेकपा माओवादी केन्द्र पाल्पाका इन्चार्ज अनिलकिशोर घिमिरेले परम्परा धान्ने गरी मात्र समीक्षा गर्न नहुने बताउँदै पालिका तथा सरकारी निकायले आफ्नो उपलब्धी देखाउने र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने मार्गदर्शन समीक्षाबाट  हुने अपेक्षा गर्नुभयो ।  
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला कार्यबाहक सभापति सुमन गैरेले जनताको काम पारदर्शी रुपमा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कँुवरले लामो समयदेखि काम सम्पन्न नहुँदा योजनाको नाम छ, काम छैन भन्ने मान्यता स्थापित भएको बताउनुभयो । हार्थोक छहरा, बाँसटारी झडेवा, आर्यभाङ्ज्याङ् रामपुर, चिलाङ्दी चापपानी राम्दी सडक वर्षौदेखि अलपत्र परेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । यस्तै नेकपा एकीकृत समाजवादीका सचिव मोहनलाल गैरेले उपभोक्ताले सहज रुपमा काम गर्न सक्ने गरी वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले ठेकेदारले काम गर्दा मुल्यांकन बढी आउने र उपभोक्ताले गर्दा मुल्यांकन नआउने प्रवृत्ति रहेको उल्लेख गर्नुभयो । 
राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले विगतमा बनेको खानी ऐन घातक रहेको भन्दै तत्काल त्यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समीक्षाको प्रस्तुतीमा तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले गरेको व्यवहार खेदजनक रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय जनमुक्ति पार्टीका तानसेन नगर अध्यक्ष होमबहादुर थापाले जनताको चाहना अनुसार सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले जिल्ला समीक्षामा पालिका र सरकारी कार्यालयका लागि गरेको काम देखाउने अवसर भएपनि धेरैले देखाउन नसकेको बताउनुभयो । उहाँले स्थानीय सरकारको रुपमा रहेका पालिकाले आफ्नो प्राथमिकता छनौट गर्न नसकेका कारण सरकार एउटा निकायले जस्तो बनेको उल्लेख गर्नुभयो । 
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जिल्लाको विकासमा सकारात्मक सहयोग पुग्ने गरी समीक्षालाई उपलब्धीमुलक बनाउने प्रयास गरिएको बताउनुभयो । संविधानले दिएको अधिकार कार्यान्वयनमा अहिलेपनि विविध समस्या भएपनि उपलब्धी हुने गरी सबैले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा पाल्पाका दश स्थानीय तहसँगै कालीगण्डकी कोरिडोर आयोजना, सडक डिभिजन कार्यालय, सडक पूर्वाधार विकास कार्यालय, स्वास्थ्य कार्यालय, शहरी विकास तथा भवन कार्यालय, खानेपानी तथा सरसफाई कार्यालय, डिभिजन वन कार्यालय, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख तथा प्रतिनिधिले प्रस्तुती राख्नुभएको थियो । यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र, सुन्तला तथा फलफुल विकास केन्द्र, नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्र, सिंचाई डिभिजन कार्यालय, भू तथा जलाधार कार्यालय, सामाजिक डिभिजन कार्यालय, जिल्ला समन्वय समितिका कार्यालय प्रमुखले प्रस्तुती राख्नुभयो । 

कार्यक्रम समितिका प्रमुख खनालको अध्यक्षता, उपप्रमुख काशिका गैरेको स्वागत र नासु चन्द्र भुसालको संचालनमा सम्पन्न भएको थियो । IMG-20240912-WA0005-1726153908.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update