Erani Mahal
पाल्पामा आत्महत्याका घटना बढ्दैं

तानसेन – पाल्पामा आत्महत्याका घटनामा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा गत आव २०८०/०८१ मा आत्महत्या गर्ने बढेका हुन् । घरायासी समस्या, आवेग, डिप्रेसन, दीर्घरोग, प्रेममा वियोगलगायतका कारणले आत्महत्या बढेको प्रहरीले जनाएको छ । 
अघिल्लो आव २०७९ /०८० मा जिल्लाभर ६७ जनाले आत्महत्या गरेकामा गत आव २०८०/०८१ मा ८८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अघिल्लो आवको तुलनामा २१ जना बढीले आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । तुलनात्मक रुपमा ४० वर्ष माथिका मानिसले बढी आत्महत्या गर्ने गरेको उहाँले बताउनुभयो । 
गत आवमा ४० वर्षभन्दा माथिका ४८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जबकी अघिल्लो आवमा यो उमेर समूहका ४० जनाले मात्र आत्महत्या गरेका थिए । ४० वर्षभन्दा माथि आत्महत्या गर्ने मानिस दीर्घरोगी, पारिवारिक समस्यामा रहेका, डिप्रेसनका औषधि सेवन गरेका रहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय गरिवीका कारण पारिवारिक समस्यामा परेका मानिसले पनि आत्महत्याको बाटो रोजेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने अवस्था आउदा आत्महत्या गरेको अनुसन्धानमा खुलेको उहाँले बताउनुभयो । 
यस्तै पछिल्लो समय आत्महत्या गर्ने किशोर–किशोरी पनि बढेका छ । गत आव २०८०/०८१ मा सात जना बालबालिकासहित किशोर–किशोरीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यो सङ्ख्या अघिल्लो आवको तुलनामा चारले बढी हो । 
मानिस विभिन्न समस्यामा पर्दा समयमै उचित परामर्शको अभावमा पनि आत्महत्या बढेको छ । समस्यामा परेको बेलामा उचित सल्लाह र साथ नपाएपछि आत्महत्या गर्ने गरेको प्रहरीको दावी छ । एक्लै बस्ने प्रचलन, एकको पीरमर्का अर्कालाई नभन्ने प्रवृत्ति बढेकाले पनि आत्महत्याको दर बढेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update