Erani Mahal
बाँसटारी र सालघारी क्षेत्रकाे सडक कहिले सुधार हाेला ?

तानसेन – बाँसटारी–झडेवा सडकखण्डको सालघारी क्षेत्रको सडकमा खाल्डो परेको वर्षौ भयो । यस क्षेत्रमा पुग्दा यात्रु तथा चालकले पीडाको महशुस गर्छन् । लामो समयदेखि उक्त क्षेत्रको १५० मिटर सडक जीर्ण बनेर क्षतविक्षत बनेको छ ।

यो सडक भएर दैनिक यात्रा गर्दछन् तर १५० मिटर सडक बनाउन कसैको ध्यान नगएको वर्षौ बितेको छ । दैनिक सयौँ यात्रुले यही सडकको प्रयोग गरेर यात्रा गर्दछन् । पाल्पाको दक्षिण क्षेत्रको अधिकांश मानिसले प्रयोग गर्ने यो सडक भने उपेक्षामा परेको स्थानीयबासीकाे गुनासाे छ । बजेटका लागि भूमिका खेल्ने सरोकारवाला व्यक्तिले केही मानिसले प्रयाेग गर्ने याेजनामा लाखौँ रुपियाँको योजना छनाैट गरेका छन् तर बाँसटारी–झडेवा सडकखण्डकाे बाँसटारी र सालघारी क्षेत्रकाे सडक बनाउनतर्फ उनीहरूकाे ध्यान जान नसकेकाे यात्रुहरूको भनाइ छ । sadak-jirna-(1)-1725891556.jpg

सालघारी क्षेत्रको सडकमा ठूला–ठूला खाल्टो बनेको छ । सो खाल्टालाई माटोले पुर्ने गरिएको छ । माटोले सडक पुर्ने कामले सडक भत्किएर घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य बनेको छ । झडेवा-रूप्से-खहरे-सराइ-दमकडा हुँदै सालघारीकाे दाेस्राे घुम्तीसम्म राम्राे बनेकाे सडक बाँसटारीतर्फ आएपछि बिग्रिएकाे यात्रुकाे भनाइ छ । सालघारीकाे माथिल्लाे घुम्तीदेखि बाँसटारीसम्म सडक बनाउन जनप्रतिनिधि, कर्मचारी र अन्य सराेकारवालाकाे ध्यान गएकाे छैन ।

केही वर्षअघि सालघारी, बाँसटारी, तिन्टीआँपलगायतका क्षेत्रको सडक मर्मतसुधार भएपनि बजेट नपुगेको भनेर १५० मिटर त्यत्तिकै छाडिएको थियो । यस्तै बाँसटारी क्षेत्रकाे करिब एक किलाेमिटर सडक पनि अलपत्र जस्तै बनेकाे छ । साे क्षेत्रमा एकतर्फीबाट सडक टालटुले कालाेपत्रे गरिएकाे छ । याे सडक प्रदेश सरकार मातहत भएपनि सडक निर्माणका लागि बजेट भने विनियाेजन हुन सकेकाे छैन । 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update