Erani Mahal
पाल्पाकाे चार पालिकामा औद्योगिक ग्राम बनाउने काम अलपत्र

पाल्पा - जिल्लाका चार पालिकामा औद्योगिक ग्राम बन्ने घोषणा भएकाे छ । तर अहिलेसम्म एक स्थानमा पनि बनेकाे छैन । बन्छ कि बन्दैन, अहिले पनि अन्याैल छ । तानसेन, रामपुर, रिव्दीकोट र माथागढी गाउँपालिकामा औद्योगिक ग्राम बनाउने सरकारले घाेषणा गरेकाे छ ।  
कतै रकम अभावले औद्योगिक ग्राम निर्माणको काम अलपत्र जस्तै बनेको छ । कतै काम नै सुरु हुन सकेको छैन । पालिकाभित्र सञ्चालन हुन सक्ने मझौला तथा साना उद्योग एकै स्थानमा सञ्चालन गर्ने योजना अनुसार सरकारले आव २०७७/०७८ देखि औद्योगिक ग्राम निर्माणको कामलाई अगाडि बढाएको थियो । औद्योगिक ग्राम निर्माणमा भएको ढिलाईले पालिकासमेत अलमलमा रहेको छ । याेजना कराेडाैकाे बन्ने तर रकम अभावले के गर्ने भन्ने पालिका नेतृत्व अलमलमा रहेकाे छ । औद्योगिक ग्राम सरकारले निर्माण गर्ने र त्यसभित्र उद्याेगी, व्यवसायीलाई व्यवसायका लागि स्थान दिने याेजना सरकारकाे हाे । 

तानसेन नगरपालिकामा पाँच वर्षअघि सुरु भएको औद्योगिक ग्रामकोे काम कछुवा गतिमा अगाडि बढेको छ । रकम अभावले सोचेअनुसार औद्योगिक ग्राम निर्माणको काम हुन नसकेको तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताउनुभयो । सात करोड बढीको डिपिआर तयार गरेको नगरपालिकासँग आफ्नै स्रोत कम भएको र सङ्घीय सरकारले क्रमागत रुपमा एक करोडभन्दा बढी रकम पठाउन नसक्दा काममा ढिलाई भएको उहाँको भनाई छ । तानसेन नगरपालिकाले औद्योगिक ग्राम बनाउने स्थलमा जग्गाको संरक्षण गर्न पाँच सय मिटर घेराबार लगाउने कामबाहेक अन्य काम गरेको छैन । त्यसका लागि हालसम्म डेढ करोड बढी खर्च भइसकेको छ ।

जिल्लाको रामपुर नगरपालिकाको हालत पनि उस्तै छ । रामपुर नगरपालिकामा प्रशासनिक भवन, जग्गाको संरक्षण र शौचालय निर्माणको काम भएको छ । अन्य काम अगाडि बढ्न नसकेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले जानकारी दिनुभयो । औद्योगिक ग्रामका लागि केही पूर्वाधार तयार भएपनि उक्त संरचनाभित्र कोहीकसैले पनि उद्योग सञ्चालन गर्छु माग नगरेको पण्डितको भनाई छ । रामपुरमा हालसम्म एक करोड ७२ लाख रुपियाँ खर्च भएको छ । 

aaudhogik-gram-palpa-(2)-1725758544.jpg
जिल्लाको माथागढी गाउँपालिकाले तीन वर्षअघि औद्योगिक ग्राम निर्माणका लागि वडा नं. २ स्थित रुप्सेमा जग्गा उपलब्ध गराइसकेको छ । तर त्यसका लागि सङ्घीय सरकारले कुनै वजेट विनियोजन गर्न नसक्दा थप काम अगाडि बढ्न सकेको छैन । 
यस्तै जिल्लाको रिव्दीकोट गाउँपालिकाले एक वर्षअघि रिव्दीकोट–३, स्थित चकल्दीमा औद्योगिक ग्रामका लागि जग्गा उपलब्ध गराएको थियो । सरकारले त्यसका लागि आव २०७९/०८० मा एक करोड रुपियाँ पालिकालाई सङ्घीय सरकारले उपलब्ध गराएपनि त्यसबाट काम हुन नसकेको पालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । पालिकाले औद्योगिक ग्राम निर्माण गर्न २७ करोडको डिपिआर बनाएपनि रकम कम हुँदा के काम गर्ने भन्ने अन्यौलता थपिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update