Erani Mahal
परिवार नियोजन संघ पाल्पामा एचआइभी संक्रमण रोकथामका लागि प्रेप सेवा सुरु

पाल्पा - नेपाल परिवार नियोजन संघ पाल्पा शाखामा प्रेप सेवा सुरु भएको छ । एचआइभी संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरुलाई लक्षित गरेर संघले सेवा सुरु गरेको जनाएको छ । सेवा बारे जानकारी गराउने उद्देश्यले आयोजित एचआईभी संक्रमण बचावटका लागि गरिने उपचार विधीको सचेतिकरण कार्यक्रममा संघका शाखा प्रमुख सोवाकान्त न्यौपानेले एचआइभी संक्रमणको उच्च जोखिममा रहेका व्यक्ति, यौनकर्मीहरू, समलिंगी पुरुष, ट्रान्सजेन्डर व्यक्ति वा संक्रमितका साथीहरुकको सुरक्षा सुनिश्चित गर्न सेवा सुरु गरिएको बताउनुभयो ।

उहाँले प्रेपको नियमित रूपमा सेवन गर्दा ९९ प्रतिशत संक्रमित हुने सम्भावना कम हुने समेत बताउनुभयो । प्रेप एक प्रकारको औषधि हो । यो दैनिक रुपमा एक गोली सेवन गर्नुपर्छ । प्रेप केवल एचआइभी संक्रमणको सुरक्षाका लागि मात्र हुने भएकोले अन्य यौनजन्य रोगबाट बच्न नसकिने बरिष्ठ मेडिकल अधिकृत राकेशलाल बज्राचार्यले बताउनुभयो । उहाँले प्रेप औषधि खानुभन्दा अगाडि र प्रयोग गरिरहेको समयमा नियमित रुपमा एचआइभी परीक्षण गर्नुका साथै चिकित्सकहरुसंग परामर्श लिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सेवा प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले एचआइभी संक्रमित समुदायमा खुल्न नचाहने अवस्थामा उनीहरुबाट जोखिममा रहेका व्यक्तिहरुको सुरक्षाका लागि सञ्चालित सेवा आफैमा चुनौतीपूर्ण रहेको समेत बताउनुभयो । इमान्दार भएर जोखिममा रहेका व्यक्तिहरुले सेवा लिएमा संक्रमणको दर कम हुने प्रमुख खनालको भनाइ छ । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले प्रेपका धेरै फाइदाहरू रहेको बताउनुभयो । उहाँले विशेषगरी एचआइभी संक्रमणको जोखिमलाई कम गर्न सेवाले सघाउने भएकोले सेवा बारे जनचेतना जगाउनुपर्ने बताउनुभयो ।

पाल्पामा अहिले पनि करिब तीन सय ५० बढी एचआइभी संक्रमित रहेकोमा अधिकांशले औषधि सेवन गर्ने गरेको र ती संक्रमितको सम्पर्कमा रहेको व्यक्तिहरुलाई मात्र सेवा लिने वातावरण बनाउन सके पनि संक्रमण न्यूनीकरण हुने प्रमुख न्यौपानेले विश्वास व्यक्त गर्नुभयो । जिल्लाका राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतको उपस्थिति रहेको कार्यक्रम संघका कोषध्यक्ष माधवप्रसाद अर्यालको अध्यक्षतामा भएको थियो । सहभागीहरुले प्रेप सेवाको प्रयोगले व्यक्तिहरूलाई दीर्घकालीन रूपमा स्वस्थ र सुरक्षित राख्न मद्दत गर्ने बुझिएको बताए । उहाँहरुले जोखिममा रहेका व्यक्तिहरु खुलेर सेवा लिँदा एचआइभी उपचारको आवश्यकता नरहने भएकोले निर्धक्क भएर औषधिको प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update