Erani Mahal
रामपुर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि छानविन समिति

तानसेन – रामपुर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि छानविन गर्न समिति बनेको छ । वान्ता भएर उपचारका लागि रामपुर अस्पतालमा आउनुभएकी रामपुर–५, की ७२ वर्षीया खगीसरा खड्काको मृत्यु भएपछि छानविन समिति बनेकाे हाे । साेही विषयमा बिवाद हुँदा आइतबार राति अस्पताल परिसरमा हुलदङ्गा भएको थियो । 
राति अबेर बिरामीका आफन्त र सराेकारवाला पक्षबीच छानविन समिति बनाउने सहमति भएकाे हाे । त्यसपछि भीड सामान्य बनेकाे थियाे । कर्मचारीको लापरबाही र उपचारमा गरिएको बेवास्ताले बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले दोषी कर्मचारीमाथि कारबाहीको माग गरेकाे रामपुर–५, का वडाअध्यक्ष दुर्गाप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

 घटनाकाे बारेमा बुझ्न छानविन गर्न समिति बनेको उहाँले बताउनुभयो । सोमबार बिहानैदेखि अस्पताल प्रशासनसँग वार्ताका लागि पहल भइरहेको उहाँले बताउनुभयो । 
वान्ता भएर ल्याएको बिरामीलाई अस्पतालका कर्मचारीले वास्ता नगरेको, बिरामीलाई उपचार गर्न भन्दा उल्टो प्रहरीलाई खबर गरेको बिरामीका आफन्तले आरोप लगाएका छन् । अस्पतालमा इमर्जेन्सी सेवाकाे लागि बिरामी आएपछि माात्र सेवा दिने परिपाटी रहेकाे अस्पतालकी निमिक्त मेसु एलिजा अर्यालले बताउनुभयो ।

इमर्जेन्सी सेवा दिने भनेपछि आफू तत्कालै आएर उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको उहाँले बताउनुभयाे । बिरामी उच्च रक्तचापकाे राेगी रहेकाे र अस्पताल आउदा रगत वान्ता गरेकाे अवस्थामा उपचार गरिएपनि बचाउन नसकेकाे उहाँले बताउनुभयाे । 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update