Erani Mahal
जिल्लाभरी डेङ्गु फैलियाे, नियन्त्रणका कार्यक्रम हुन सकेनन

तानसेन – पाल्पामा सरोकारवाला निकायले डेङ्गु नियन्त्रण अभियान गर्न सकेका छैनन् । डेङ्गु सङ्क्रमण तीव रुपमा बढेपनि सरोकारवाला निकायहरूले नियन्त्रणका लागि प्रभावकारी काम गर्न सकेका छैनन् । 
जिल्लास्थित स्वास्थ्य संस्थाहरू, स्थानीय तह, जनप्रतिनिधि र अन्य सरोकारवाला निकायले डेङ्गु नियन्त्रणमा काम गर्न नसकेको गुनासो छ । डेङ्गु सङ्क्रमण बढेपनि नियन्त्रणका लागि ठोस् काम हुन नसकेको स्थानीय बासिन्दा बताउँछन् ।
पाल्पामा यो वर्ष हालसम्म १४७ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । एक महिनाअघि ५० जनामा मात्र डेङ्गु सङ्क्रमण भएकोमा अहिले बढेर झण्डै डेढ सय पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । भदौँ लागेयता डेङ्गु सङ्क्रमण दिनहुँ तीन÷चार जनामा देखिएको कार्यालयले जनाएको छ ।  
डेङ्गु सङ्क्रमित हुनेमा पाल्पाका मात्र ९४ जना रहेका छन् । बाँकी अन्य जिल्लाका व्यक्ति विभिन्न अस्पतालमा उपचाररत रहेको कार्यालय प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । पाल्पा लुम्विनी प्रदेशभरिका १२ जिल्लामध्ये सबैभन्दा बढी प्रभावित जिल्ला हो ।  
डेङ्गु सङ्क्रमण फैलाउने जातको लामखुट्टेका लागि उपयुक्त वातावरण बनेकाले सङ्क्रमण बढेको स्वास्थ्यकर्मीको भनाई छ । गत वर्ष जिल्लामा कुल ६५५ जनामा सङक्रमण पुष्टि भएको थियो । सङ्क्रमण नियन्त्रणमा लागि जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखामार्फत् ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरी सचेतना फैलाउन स्वास्थ्य कार्यालयले परिपत्र गरेको कार्यालयले जनाएको छ । 
डेङ्गु एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । डेङ्गुको सङ्क्रमण भएमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखा पर्छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update