Erani Mahal
कांग्रेस पाल्पाका पूर्वसभापति कोइरालाको  निधन

पाल्पा - नेपाली कांग्रेस पाल्पाका पूर्वसभापति ठाकुरचन्द्र (विप्र) कोइरालाको  निधन भएकाे छ । तानसेन –६, बर्तुङमा काेइरालाकाे निधन भएको परिवारले जनाएका छन् । कोइराला २०४८ देखि २०५२ सालसम्म कांग्रेस पाल्पाको सभापति रहनुभएकाे थियाे । उहाँ संगठन निर्माणका क्रममा वि.सं. २०१५ सालमा युवा कांग्रेस पाल्पाको अध्यक्ष बन्नुभएकाे थियाे । कांग्रेसमा सादगी नेताको रुपमा परिचित उहाँ प्रजातन्त्रको पुन:स्थापनाका निम्ति वि.सं. २०१७ देखि ०४६ सालसम्म भएका विभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भूमिका खेल्नुभएकाे थियाे । 

स्वर्गीय कोइरालाका एक छोरी र तीन छोरामध्ये दुई छोरा र श्रीमतीको निधन भइसकेको छ । कोइरालाको निधनबाट पार्टीले अग्रज र अनुभवी अभिभावकलाई गुमाएको कांग्रेस पाल्पाले जनाएको छ । जिल्ला सभापति हिमालदत्त श्रेष्ठले विज्ञप्ति निकाल्दै कोइरालाको निधनमा दु:ख व्यक्त गर्दै दुई दिन पाल्पा तानसेनस्थित कांग्रेस पार्टी कार्यालय बन्द रहने र पार्टीको झण्डा आधा झुकाइने जानकारी दिनुभयाे । 

काेइरालाकाे निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले  दुःख व्यक्त गर्नुभएकाे छ । कांग्रेस पाल्पाका पूर्वसभापति ठाकुरचन्द्र (विप्र) कोइरालाको निधनको खबरले आफूलाई स्तब्ध र दुःखित बनाएको पार्टी सभापति देउवाको भनाइ उदृत गर्दै मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

savapati-koirala-palpa-1724943147.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update