Erani Mahal
तानसेनको भगवती जात्राः एक जीवन्त इतिहास  

निर्मल श्रेष्ठ 

अन्ततः ब्रिटिश साम्राज्यको इकोनामिक इञ्जिनको रूपमा रहेको ईष्ट इण्डिया कम्पनीले आफ्नो अनुकूलको चीन जाने व्यापारिक मार्ग र चिया खेती गर्ने उर्वर भूमि प्राप्तिको लागि भरमजदूर कोशिस गर्दागर्दै पनि असफल भएपछि सन् १८१४ नवम्बर १ तारिखका दिन महामहिम गभर्नर जनरलको कमाण्डमा सरकारको सेक्रेटरी टि. एडमद्वारा हस्ताक्षरित कम्पनी सरकारले युद्ध घोषणापत्र जारी गर्यो । व्यापारिक संस्था, जुन वार मेसिनको रूपमा परिवर्तन भएको ईष्ट इण्डिया कम्पनीलाई आफ्नै बलबुतामा वीरता, धीरता र रणकौशल प्रर्दशन गर्दै पूर्वमा टिस्टा नदीदेखि पश्चिममा किल्ला काँगडासम्म सरहद फैलाएको नेपाली र नेपाली सेनाले “युद्ध हतियारले लडिदैन विचारले लडिन्छ । युद्धमा हतियारले होइन हौसलाले विजयश्री प्राप्त गरिन्छ” भन्ने महान विचारबोकेको छ भन्ने के थाहा ? वाटर–लूको युद्धमा नेपोलियनको अवसानपछि अंगे्रजले अब विश्व हाम्रै मुठ्ठीमा छ भन्ने भ्रम बोकेर किन्चित नमानी नेपाल जस्तो सानो देशलाई एकै गाँस पारुँला भन्ने मनसाय बोकेर बुटवल र स्यूराजको भू–भाग लगायत पूर्वका बाईस गाउँहरू, पूर्णीया, सारन, गोरखपुर र बरेलीका गाउँहरूको खिचिलो उठाई लार्ड फ्रान्सिस रोउडामोरियाले नेपाल विरुद्ध १ नोभेम्बर सन् १८१४ का दिन नेपाल उपर एकतर्फा युद्ध घोषणा गर्यो ।

 

ईष्ट इण्डिया कम्पनीको तैयारी
ईष्ट इण्डिया कम्पनीले नेपाल उपर एकतर्फा युद्ध घोषणा गरेपछि पाँच ठाउँबाट नेपाललाई आक्रमण गर्नेे तैयारीमा जुटेको थियो । युद्धलाई परिमाणमुखी बनाउन हातहतियारको बन्दोबस्त गर्नुका साथै अवधको नवाबसँग पछि विजित भू–भागको केही भू–भाग अवधलाई दिने सर्तमा युद्ध खर्चको लागि अवधको नवाबसँग ढाई करोड रूपैया ईष्ट इण्डिया कम्पनीले लिएको थियो । यसको साथै कर्क प्याक्र्टिकले सन् १७९२ मा अध्ययन गरेको नेपालका गढी गौडाहरू र त्यहाँ पुग्ने बाटो घाटोहरूको सूचना संकलन, हेमिल्टनले सन् १८०१ मा खोजी गरेको नेपालको सैनिक शक्तिको फेरिहस्त लगायत नक्सले जम्मा पारेको नेपालको आन्तरिक र बाह्य प्रतिरक्षा व्यवस्था साथै मेजर ब्राडसाँ एवम् डा. रुथरफोर्डले सुझाएको बाटोघाटोहरू एवम् कुमाऊँमा कसरी फौजलाई सघाउन सकिन्छ । साथै त्यहाँ भएका संसाधनहरूको परिचालन (मोविलाइजेसन्) कसरी गर्न सकिन्छ भन्ने कुराहरूको तैयारी कम्पनी सरकारले गरेको थियोे । युद्धको लागि सबै तैयारी पुरा भएपछि सतलज र यमुना नदीको बीचको भू–भागलाई कब्जा गर्न रूपारबाट कर्णेल डेभिड अक्टरलोनी ८००० फौज र १२ वटा तोप सहित हण्डुरको बाटो हुँदै क्योथल, कहलुरमा अधिकार जमाउन अघि बढेको थियो । देहरादुनको भू–भागलाई कब्जा गर्न सरहानपुरबाट मेजर जनरल रोवट रालो जिलेप्सी ३५०० फौज र १० वटा तोप लिएर देहरादुनको बाटो गरी एकभाग सेना लिएर गढवाल दख्खल गर्ने र अर्को भाग सेना लिएर पश्चिमतिर बडा काजी अमरसिंह थापाको पूर्वको बाटो छेक्ने योजना बनाई अगाडि बढेको थियो । गोरखपुरबाट मेजर जनरल जोन सुलिभान उड एकहजार अंग्रेजी सेना र तीनहजार हिन्दूस्तानी फौज तथा आठवटा तोप लिएर वनारस–गोरखपुर–बुटवल हुदै नेपालको पश्चिमको अभेद्य किल्लाको रूपमा रहेका पाल्पा र गोर्खालाई दख्खल गरी अभेद्य सैनिक अखाडाहरूलाई राजधानीसँगको सम्पर्क टुटाई, दानापुरबाट आएको कम्पनी फौजसँग मिल्ने योजना बनाएर वनारसबाट सन् १८१४ नवेम्बर १५ तारिखका दिन गोरखपुर आईपुगेको थियो । मकवानपुरको बाटो भएर काठमाडौ दख्खल गर्न दानापुरबाट मेजर जनरल वेनेट मार्ले ६००० फौज र १२वटा तोप लिएर हिडेका थिए । कोशीदेखि टिस्टा नदीसम्मको क्षेत्र र दार्जीलिङको बाटो गरी पूर्व दख्खल गर्न तथा सुखीमलाई भड्काउन क्याप्टेन वैरी ल्याटरलाई १५०० फौज सहित खटाइएको थियो ।

नेपाल सरकार तर्फको तैयारीः
वि.सं.१८०१ सालदेखि वि.सं. १८६९ सम्म एकनासले चलेको बृहत् नेपाल निर्माण अभियानको क्रममा नेपाली सेनाले ६८ वर्षसम्म ७८ वटा युद्धहरू लडिसकेको थियो । त्यसमध्ये सन् १७८८ देखि सन् १७९२ मा तिब्बतसँग दुईपटक लडाइँ सकेको थियो । यतिका वर्षसम्म आप्mनै बलबुतामा लडेको नेपाल, साँच्चै भन्नुपर्दा नेपाल त्यसबखत् सुस्ताएको अवस्थामा थियो । नेपाल उपर ईष्ट इण्डिया कम्पनीले गरेको एकतर्फा युद्ध घोषणा र त्यसले निम्त्याएको युद्ध, नेपालको रहर थिएन । बाध्यता थियो । युद्ध घोषणा भई सकेपछि नेपाललाई पनि तैयारीमा जुट्न कर लाग्यो । नेपालले रसदपानीको व्यवस्था, मेग्जिनको निर्माण गर्नुको साथै हात हतियारको जोहो र गढी किल्लाहरूको निर्माण एवम् मरमत गर्न युद्धस्तरमा लाग्यो । साथै पृथ्वीनारायणको पालादेखि लडाइँ खेल्न जानुभन्दा अघि शक्तिपिठहरूमा पूजाआजा, भाकल गर्नु र साइत जुराउने पहिलेदेखि चलिआएको प्रचलनलाई निरन्तरता दिंदै धार्मिक अनुष्ठानहरू पनि थालिए । सन् १७९२ मा नेपाल र चीनबीच भएको ‘वेत्रावती सन्धि’ को धारा ४ मा व्यवस्था भए मुताबिक ‘कुनै विदेशी शक्तिले नेपाल उपर आक्रमण गरेको खण्डमा चीनले अवश्यनै सहायता गर्ने छ’ भन्ने प्रावधान अनुरूप नेपालले चीनबाट केही आशा गरेको थियो । तर, ऐन मौकामा चीनले मुख मोड्यो । अब नेपालले आफ्नै बलबुतामा युद्ध लडने तैयारी गर्न थाल्यो । नेपालले मोहोडा मोहोडामा विभिन्न सेनापतिहरूको नेतृत्वमा फौजको खटनपटन गर्न थाल्योे । पूर्वतिर विजयपुरमा काजी भक्तवीर थापाको मातहतमा महाभारत श्रृंखलामा रहेका विभिन्न किल्लाहरूमा २००० फौज सहित खटाइएको थियो, मकवानपुरको रक्षार्थ काठमाडौंबाट कर्णेल रणवीरसिंह थापा खटिएका थिए । चौतरिया प्राण शाह, दलभञ्जन पाँडे सहित ४००० फौज उनका सहायतार्र्थ पठाइएको थियो । पाल्पाको रक्षार्थ नयनसिंह थापाको जेठा छोरा, भीमसेन थापाका भतिजा कर्णेल उजीरसिंह थापा ३००० फौज सहित खटिएका थिए । डोटी, कुमाऊँ, गढवालमा ६० वर्षिय चौतरिया बम शाहलाई खटाइएको थियो भने पश्चिम यमुना प्रान्त (सिमला प्रदेश) मा ६४ वर्षिय काजी अमरसिंह थापा ३५०० फौजसहित खटिएका थिए । देहरा (देहरादून) रक्षाको लागि ६०० सिपाही सहित कप्तान बलभद्र कुँवर खटिएका थिए । उनीसँग रहेका छसय सेनाहरूमध्ये आधा जति ता केटाकेटी र महिलाहरू थिए ।

भव्य मन्दिरको निर्माणः
नेपाल–अँग्रेजयुद्ध (वि.सं.१८७१–वि.सं.१८७२) को पहिलो चरणको युद्धमा नेपाली र नेपाली सेनाले आप्mनो वीरता, धीरता र रणकौशल प्रदर्शन गर्दै ईष्ट इण्डिया कम्पनीको फौजलाई धुलोपिठो पार्नुका साथै जावाका वीर भनेर कहलिएका जनरल रोवोट रालो जिलेप्सिसहित धैरै सैनिक अधिकृत लगायत थुप्रै सेनाहरू हताहत भएको थियो । पहिलो चरणको सबै युद्ध नाकाहरू नेपालको पक्षमा रह्यो । दोस्रो चरणको युद्धमा आन्तरिक र वाह्य कारणले पाल्पाको मोहडा ऐतिहासिक जीतगढीमा भएको युद्ध बाहेक अन्य चार ठाउँबाट लडिएको युद्ध नेपालको पक्षमा हुन सकेन । कर्णेल उजीरसिंह थापाको नेतृत्वमा पाल्पाबाट गएको नेपाली फौजले वि.सं. १८७१ पौष १५ गते र वि.सं. १८७२ बैशाख ७ गते गरी दुईपटक ईष्ट इण्डिया कम्पनी फौजलाई हराउँदै विजयश्री हासिल ग¥यो । लडाइँ खेल्न जानु अघि कर्णेल उजीरसिंह थापाले तानसेन शहरको मध्यभागमा अवस्थित सेनकालीन प्रख्यात महिषासुरमर्दिनी भगवतीको पाउँमा परेर समरभूमिमा विजयश्री हासिल भयो भने माता भगवतीको भव्य मन्दिर निर्माण गरी माता भगवतीको सिंदूरजात्रासहित भगवती माताको महिमा चारै चौरास पैmलाउने छु भनि भाकल गरेका थिए । सोही भाकल बमोजिम काष्ठकलाको बेजोड नमुना खामिएको भव्य मन्दिर वि.सं. १८७२ सालमा निर्माण थालनी गरी वि.सं. १८७६ सालमा सम्पन्न गरेका थिए । सेनकालीन भगवती माताको प्रस्तरको मूर्तिलाई गर्भमा पारि अष्टधातुले बनेकोे अठारवाहु भएकी महिषासुरमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवतीमाताको मूर्ति अग्रभागमा स्थापना गरेका थिए । मन्दिरको भित्री प्रदक्षिणामार्गको बायब्य कोणमा सूर्य, ईशान कोणमा विष्णु, आग्नेय कोणमा शिव, नैऋत्य कोणमा गणेश आदिको मूर्तिहरू स्थापना गरी मन्दिरलाई ‘दुर्गा पञ्चायन’ को रूप दिइएको थियो ।
महिषासुरमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवतीको मूर्ति अति नै मनमोहक र चित्तआकर्षक छ । मूर्ति भरखरै बोल्ला कि जस्तो देखिन्छ । मूर्ति १० इञ्च उचाइ भएको आसनमाथि दायाँ पाउ सिंह माथि र बार्याँ पाउ महिषासुरको छातीमा टेकेको छ । मूर्तिको आयतन सिंह माथिको ५ इञ्च आसनमाथि रहेको छ । त्यस आसनमाथि २५ इञ्च उचाइ र २४ इञ्च चौडाइ भएकोे आलिढ मुद्रामा भव्य महिषासुरमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवतीको मूर्ति स्थापित छ । मूर्ति ज्यादै अलङ्कृत भइकन पनि आकर्षक छ । हृदयस्पर्शी चम्किलो दुई नेत्र र भृकुटीमा थप एक नेत्र सहित यस मूर्ति तीननेत्रकोे छ । अठार बाहुहरूमा विभिन्न आयुधहरू धारण गरेको छ । मूर्तिको आसनलाई अध्ययन गर्दा तान्त्रिकइजम् अनुसार रहेको छ भने आयुुधहरूको अध्ययन गर्दा हिन्दूजम् र बुद्धिजम्को मिलन देखिन्छ । यसकारण यस मन्दिर हिन्दूजम्, बुद्धिजम् र तान्त्रिकजम्को इन्द्रधनुषीय मिलनविन्दु भएको देखिन्छ । कर्णेल उजीरसिंह थापाले महिषासुरमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरको निर्माण विजय स्मारकको रूपमा गरेका थिए भने वि.सं.१८७७ देखि भगवतीजात्रा विजय उत्सवको रूपमा प्रचलनमा ल्याएका थिए । जुन राष्ट्रिय गौरवको रूपमा यद्यपि चलिआएको छ ।

 

 

अहिलेको अवस्थाः
अहिले यो मन्दिर जीर्ण अवस्थामा छ । वर्षादको याममा पानी चुहिने हुँदा मन्दिरको छाना प्लास्टिकले छोपिएको छ । अब यो मन्दिर पुनर्निर्माणको पर्खाइमा छ । हालसालै पुरातत्व विभागबाट ४ करोड ६ लाख १५ हजार ५४८ रूपैयामा महिषासुरमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवती मन्दिर, तीन तले झिगटीले छाएको मन्दिर निर्माण गर्ने लगत स्टिमेट तयार भएको छ । रकमको जोहो हुन सकेको छैन् । समर सौन्दर्यका नायक कर्णेल उजीरसिंह थापाले भव्य मन्दिर निर्माण गर्दा मन्दिर निर्माणको विधिविधानलाई निश्चित रूपले अवलम्बन गरेका थिए होलान । उनले महिषासुरमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवतीको मन्दिरको निर्माण ५ या ६ या सात तलेको गरेको हुनुपर्दछ । किनभने मन्दिर निर्माणको विधिविधानलाई अध्ययन गर्दा देवीको मन्दिर बनाउँदा पाँच या छ या सात तले हुनुपर्ने मान्यता रहेको छ । यस कुरालाई योगी नरहरिनाथलाई उद्धृत गर्दै च्यलबमि ः। द्यभचलष्भच ले आप्mना दुईवटा पुस्तकहरूमा देवीको मन्दिर पाँच या छ या सात तलेको हुनु पर्ने उल्लेख गरेका छन् भने सुदर्शनराज तिवारीले पनि यस कुरालाई समर्थन जनाएका छन् । कर्णेल उजीरसिंह थापाका महतारी रणकुमारी थापाले चढाएको अजङ्गको घण्टको मुनि माथवरसिंह थापाको शाके सम्वत् १७५१ (वि.सं. १८८६) उल्लेख भएको शिलालेखमा यस मन्दिरको जीर्णोद्धार गरिएको व्यहोराकोे उत्कीर्ण गरिएको छ । कर्णेल उजीरसिंह थापाले वि.सं. १८७६ मा निर्माण सम्पन्न गरेको मन्दिर दश वर्ष मै भत्किएर माथवरसिंह थापाले जीर्णाेद्धार गरी तीन तले झिगटीले छाएको मन्दिरको जुन फोटो उपलब्ध छ त्यो पर्सिवल लण्डनले लेखेको नेपालनामक पुस्तकमा पे्रषित फोटो हो । वि.सं. १८५० देखि १८८० सम्म ठूल–ठूला भूकम्प गएको प्रमाणहरू छन् । तर खासगरी वि.सं.१८७६ देखि वि.सं. १८८६ साल भित्र भूकम्प गएको यकिन प्रमाण प्राप्त हुन सकेको छैन् । यसको शोधखोज हुन् बाँकी नै छ । माथवरसिंह थापाले जीर्णाेद्धार गरेको तीन तले झिगटीले छाएको मन्दिर वि.सं.१९९० सालमा गएको भूकम्पले भत्किएपछि निर्माण गरिएको अहिलेको मन्दिर हो । अब एकपल्ट हामी पुनर्विचार गर्नुपर्छ होला । मन्दिर निर्माण विधिविधान अनुसार नै अबको मन्दिर निर्माण गर्दा पाँच या छ या सात तला बनाउने हो कि ? यसबारेमा एकपटक सोच्नुपर्छ होला ।


पछिल्लो कुराः
राष्ट्रिय गौरवगाथा, राष्ट्रिय बूजुदसँग गाँसिएको यस महिषासुरमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवतीजात्रा तानसेनेली, पाल्पाली, लुम्बिनी प्रदेशको मात्रै नभई समग्र नेपालको हो । यस जात्रालाई राट्रिय पर्वको रूपमा मनाउने मेसो मिलाउनु पर्छ । साथै राष्ट्रिय गौरवको यस दिनलाई राष्ट्रिय पर्वको रूपमा मनाउन राज्यले घोषणा गर्नुपर्ने देखिन्छ । प्रख्यात महिषासुरमर्दिनीश्री ७ रणउजीरेश्वरी भगवती मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरी नेपालको गौरवगाथालाई विश्व सामु परिचित गराउन पहल गर्नुका साथै समर सौन्दर्यका नायक कर्णेल उजीरसिंह थापाको हुलाक टिकट जारी गर्ने कामको थालनी पनि गर्नु आवश्यक देखिन्छ ।  बुटवल टुडेबाट 

 
 
 
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update