Erani Mahal
भगवती जात्रा हेर्न राष्ट्रपति सहितका विशिष्ट व्यक्ति आउने 

पाल्पा – जिल्लाको ऐतिहासिक भगवतीको खटयात्राको लागि राष्ट्रपति रामचन्द्र पौडेल सहितका विशिष्ट व्यक्तित्वहरु पाल्पा आउने भएका छन् । 

 


राष्ट्रपति पौडेल कृष्णाजन्माष्टमीको भोलिपल्ट मंगलवार तानसेनमा निस्कने ऐतिहासिक भगवती जात्राको अवलोकनका लागि भदौ ११ गते मङ्गलबार तानसेनमा आउनुहुने कार्यक्रम तय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । 

 


भगवती जात्राको लागि पाल्पामा राष्ट्रपति पौडेल सहित केन्द्रीय अर्थमन्त्री विष्णु पौडेल, संस्कृति मन्त्री, प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहितका मन्त्री र उच्च पदस्थ अधिकारीहरु पाल्पा आउने र राष्ट्रपतिको स्वागत लगायतको कार्यक्रम अन्तिममा पुगेको भगवती मन्दिर व्यस्थापन समितिका अध्यक्ष अशोक मर्हजनले जानकारी दिनुभयो । 

 


वि.स. १८७१÷०७२ मा नेपाल–अङ्ग्रेज युद्धमा अङ्ग्रेज फौजलाई पराजित गरेपछि तत्कालिन कर्णेल उजिरसिंह थापाले भगवती जात्राको आरम्भ गर्नुभएको थियो । भगवतीको भाँकल गरेर युद्धमा विजयी भएपछि कर्णेल थापाले भगवतीको महिमा फैलाउन वि.स. १८७७ देखि भगवतीको रथ तानसेन बजारमा परिक्रमा गराउने प्रचलन बसाल्नुभएको थियो । सोही बेलादेखि निरन्तर रुपमा सञ्चालन भएको भगवती (रथयात्रा) जात्राको अवलोकनका लागि यस वर्ष पाल्पामा विशिशष्ट व्यक्तित्वहरु आउने समितिले जनाएको छ ।  

 


उहाँले भगवतीदेवीको दर्शन, पूजा गर्नुका साथै रथ परिक्रमाको अवलोकन गर्नुहुने र अन्य भेटघाटमा सहभागी हुनेहुने कार्यक्रम तय भएको प्रशासनले जनाएको छ । भगवती जात्राको दिन लुम्विनी प्रदेश सरकारले समेत जिल्लाभर सार्वजनिक विदाको घोषणा गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update