Erani Mahal
पाल्पाकै पहिलो ट्राफिक लाइट रिब्दीकोटको भैरवस्थानमा 

पाल्पा – जिल्लाको पहिलो पटक रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा ट्राफिक लाइट जडान गरिएको छ ।

 

रिब्दीकोट गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत रिब्दीकोटको वडाको कार्यक्रमबाट ट्राफिक लाइट जडान गरिएको हो । रिब्दीकोट गाउँपालिकाका वडा नं. ४ का वडा अध्यक्ष सोमकुमार कार्कीका अनुसार वडाले वार्षिक बजेटबाट लाइट जडान गरिएको छ । मानिसहरुको ज्यानको सुरक्षाको लागि भैरवस्थानमा रहेको भैरवजनता मावि अगाडि लाइट जडान गरिएको रानीमहललाई बताउनुभयो । 

 


विद्यालय हातामा आवतजावतको लागि र सवारी दुर्घटना न्यूनिकरणको लागि ट्राफिक लाइट व्यवस्थापन गरिएको वडा अध्यक्ष कार्कीले रानीमहललाई बताउनुभयो ।  उहाँका अनुसार ऐतिहासिक भैरवमन्दिरमा दर्शालु भत्तजनको भिडभाड हुने र ट्राफिक जाम हुने भएकाले स्थानीय अभिभावक, विद्यार्थी र सरोकारवालाको सडक सुरक्षाको लागि लाइट जडान गरिएको हो । १ लाख ५० हजार बजेटमा लाइट जडान गरिएको हो । 

 


रिब्दीकोट गाउँपालिकाका प्रमुख नारायण बहादुर कार्कीका अनुसार भैरवस्थानमा वडाले र अन्य क्षेत्रमा पालिकाले समेत ट्राफिक लाइट राख्ने गरी अध्ययन गरिएको बताउनुभयो । उहाँले रिब्दीकोटको लाइट पाल्पा जिल्लाकै पहिलो ट्राफिक लाइट भएको बताउनुभयो । 
 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update