Erani Mahal
एकघर एक लालीगुँरास अभियानमा बराङ्दीका युवा बस्याल

पाल्पा -   पाल्पाको बगनासकाली ८ का  युवा सुशिल बस्यालले एक घर एक लालीगुँरास अभियान संचालन गर्नुभएको छ ।

तेह्थुम, ताप्लेजुङ्ग लगायतका जिल्लाहरुबाट लालीगुँरासका विरुवा ल्याई पाल्पामा अभियान चलाउनुभएका बस्यालले यो वर्षपनि एकसयको हाराहारीमा विरुवा रोपण गर्नुभएको छ । पाल्पाको बगनासकाली, तानसेन लगायतका स्थानहरुमा लालीगुँरास रोप्नुभएको छ ।

 

वगनासकाली भित्रका सार्वजनिक स्थलहरु, विद्यालय, स्वास्थ्य संस्थाका प्रांगङ्ग, बगनासडाडा, खानिगाउँ, देउराली, तानसेनको भगवती मन्दिर, श्रीनगर पारिलेक, नेपाल सेनाको व्यारेक क्षेत्र लगायतका स्थानहरुमा विरुवा रोपिएको बस्यालले बताउनुभयो ।

 

लालीगुँरास नेपालको राष्ट्रिय फुल हो । लालीगुँरास अग्लो र भिरालो स्थानमा हुनेभएकोले यी क्षेत्रहरुको भूवनोट र हावापानी सुहाउँदो छ । राष्ट्रिय भावनाबाट ओतप्रोत भएका बस्यालले सानैदेखी राष्ट्रियताले भरिएका गीत, कविता, लेख, रचनाहरु लेख्ने र गाउँने गर्नुहुन्थ्यो । ‘मेरो उपनाम पनि राष्ट्रप्रेमी भएकोले राष्ट्रका लागि केही त गरौं भन्ने भावना आईरहन्थ्यो,’ बस्यालले भन्नुभयो, ‘नेपालको राष्ट्रिय फुलको साथसाथै पर्यावरण तथा जडिबुटीको काममा समेत बहुउपयोगी हुने भएकोले लाँली गुँरास रोप्ने अभियान चलाएको हुँ ।’

 

बर्षा सुरुभएयता एकसयको हाराहारीमा विरुवा रोप्नुभएका बस्यालले ताप्लेजुङ्गका साथीहरुसंग समन्वय गरेर विरुवा ल्याउनुभएको थियो । तेह्थुम लालीगुँरासको राजधानी हो । ‘लालीगुँरास राष्ट्रिय फुलको साथसाथै बहुउपयोगी विरुवा हो, कम्तिमा पनि पाल्पा पर्यटकिय क्षेत्र भएकोले यहाँ आउने पर्यटकहरुलाई विदेशी खादाको साटो लालीगुँरासको फुल दिन सकियोस भन्ने मेरो चाहना हो ।’

 

बस्यालले भन्नुभयो, ‘यो फुल औषधीको लागि जडिवुटीको रुपमा समेत प्रयोग हुने भएकोले एक घर एक लाँलीगुँरास रोप्दा राम्रो हुन्छ भन्ने लागेर अभियान चलाएको हुँ ।’

 

बस्यालले चलाएको अभियानमा धेरैले साथ र सहयोग गरेका छन् । विरुवा लगाउन चाहनेहरु धेरैभएपनि सबैलाई पुरयाउन नसकिएको उहाँको भनाईछ । नजिकमा विरुवा छैनन्, टाँढाबाट ल्याउनुपर्ने हुँदा खर्च र व्यवस्थापनमा सकस भएको सुशिल बताउनुहुन्छ ।

 

आफ्नो वडा तथा गाउँपालिकामा पटक पटक विरुवा ल्याउनका लागि सहजिकरणको लागि गएपनि सहयोग नपाएको उहाँले बताउनुभयो । ‘पालिकाका जनप्रतिनिधिले यहाँ हुँदैन भनेर उम्कनुभयो, माटो परीक्षण नै नगरी हुदैन भनेर त भन्नुभएन नी,’ बस्याल भन्नुहुन्छ, ‘पाल्पामा नहुँने भए श्रीनगर लगायतका स्थानहरुमा फुलिरहेको छ ।

 
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update