Erani Mahal
सरकारी रकम अभावले 'आमा सुरक्षा कार्यक्रम' बन्द, सुत्केरी-शिशु सेवाबाट बञ्चित

तानसेन – तोकिएको रकम नआएको भन्दै लुम्विनी मेडिकल कलेजले सञ्चालन गरेको आमा सुरक्षा कार्यक्रम बन्द भएको छ । सरकारको मापदण्ड अनुसार तोकिएको रकम नदिएको भन्दै लुम्विनी मेडिकल कलेज प्रभास तानसेनले यही २०८१ असार मसान्तदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालन नगरेकाे हाे । यसबाट अस्पतालमा सेवा लिने सुत्केरी महिला र शिशु सेवाबाट बञ्चित भएका छन् ।

अस्पतालमा आएका सुत्केरी महिलालाई सरकारले तोकेअनुसारको सेवा दिएपनि सरकारले दिने अनुदान रकम नदिएको लुम्विनी मेडिकल कलेज प्रभासका प्राचार्यं डा. राजु शाक्यले बताउनुभयो । तानसेन नगरपालिकाले यस संस्थालाई सेवा दिएवापत दिनुपर्ने रकम नदिएसम्म सेवा सञ्चालन गर्न नसकिएकाे उहाँले बताउनुभयो ।

नेपाल सरकारले यो कार्यक्रमका लागि चालु आव २०८०/०८१ मा तानसेन नगरपालिकालाई १ करोड तीन लाख ८७ हजार रकम विनियोजन गरेको थियो । तर अस्पतालमा सेवा लिने सेवाग्रही बढी भएपछि रकम नपुग भएको तानसेन नगरपालिका स्वास्थ्य शाखाका प्रमुख झविन्द्र न्यौपानेले बताउनुभयो । सेवाग्रही धेरै भएकाले नपुग रकम सङ्घीय सरकारसँग माग गरिएपनि रकम नआएको उहाँले बताउनुभयो । लुम्विनी मेडिकल कलेजले चालु आवमा सुत्केरीलाई सेवा दिएवापत २५ लाख बढी रकम नपाएको जनाएको छ । चालु आवमा सरकारले पठाएको रकम नपुग भएपछि थप रकम माग गरेपनि केन्द्रबाट रकम नआएको न्यौपानेले बताउनुभयो ।

चालु आवमै रकम नपुग भएको र आगामी आव २०८१/०८२ का लागि पनि सरकारले जम्मा ३८ लाख मात्र विनियोजन गरेको तानसेन नगरपालिकाले जनाएको छ । रकम कम भएपनि आमा सुरक्षा कार्यक्रम सञ्चालन कसरी अगाडि बढाउने नगरपालिकाले थप निर्णय गरेकाे छैन । 

लुम्विनी मेडिकल कलेजमा पाल्पाका दश स्थानीय तहसहित गुल्मी, स्याङ्जा, अर्घाखाँची, पर्वतलगायतका जिल्लाका गर्भवती महिलाले सुत्केरी सेवा पाएका थिए । अस्पतालबाट विभिन्न जिल्लाका गरी मासिक एक सय २० बढी सेवाग्रहीले आमा सुरक्षा कार्यक्रमबाट सेवा लिदै आएका थिए ।

यो कार्यक्रमबाट सुत्केरी महिलाले अस्पतालबाट यातायात खर्च र गर्भजाँचवापतको खर्च पाएका थिए । यस्तै अस्पतालबाट आमा र बच्चाले सामान्यदेखि जटिल सेवा पाएका थिए । यी सेवा दिएवापत अस्पतालले सरकारले ताकेको मापदण्ड अनुसार आमा सुरक्षा कार्यक्रमबाट रकम पाउँदै आएका थिए ।

पाल्पाको सरकारी अस्पतालमा सुत्केरी महिलाका लागि सेवा प्रभावकारी नहुँदा आमा सुरक्षा कार्यक्रम लुम्विनी मेडिकल कलेजले सञ्चालन गर्दै आएको थियो । मिसन अस्पतालले भने सरकारले सेवावापत अस्पताललाई दिने रकम कम भएको भन्दै केही वर्षअघिदेखि नै यो कार्यक्रम सञ्चालन गर्न अस्वीकार गरेको तानसेन नगरपालिकाले जनाएको छ । याे कार्यक्रम बन्द भएपछि विपन्न समुदायका सुत्केरी तथा शिशु सहुलियत सेवाबाट बञ्चित हुनुपरेकाे छ । यसबाट पाल्पासहित अन्य जिल्लाका सुत्केरी महिला सेवाबाट बञ्चित भएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update