Erani Mahal
पाल्पाका स्थानीय तहबाट एक अर्व १५ करोड रकम फिर्ता

पाल्पा – पाल्पाका स्थानीय दश स्थानीय तहको एक अर्व १५ करोड बजेट फिर्ता भएको छ । जिल्लाका दश स्थानीय तहका लागि गत आव २०८०/०८१ का लागि आएको कुल बजेट ६ अर्व ३७ करोड ४६ लाख रकममध्ये ५ अर्व २१ करोड ६८ लाख मात्र खर्च भएको हो । 
आव २०८०/०८१ का लागि चालुतर्फ चार अर्व २८ करोड ७ लाख रकम विनियोजन भएको थियो । त्यसमध्ये ३ अर्व ६८ करोड ३६ लाख खर्च भएको छ । यस्तै पूँजीगततर्फ २ अर्व ९ करोड ३८ लाख रुपियाँ विनियोजन भएकोमा १ अर्व ५३ करोड ३२ लाख रुपियाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाका प्रमुख शशीन्द्र खातीले जानकारी दिनुभयो ।  
समग्रमा जिल्लाको बगनासकाली गाउँपालिकाले ८९ प्रतिशत बजेट खर्च गरेको छ । बगनासकालीका लागि आव २०८०/०८१ का लागि ५१ करोड १५ लाख विनियोजन भएको थियो । यस्तै पूर्वखोला गाउँपालिकाले ८४ प्रतिशत रकम खर्च गरेको छ । पूर्वखोलाको गत आवको कुल बजेट ४७ करोड ९८ लाख थियो । यस्तै तिनाउ गाउँपालिकाले पनि ८४ प्रतिशत रकम खर्च गरेको जनाएको छ । तिनाउ गाउँपालिकाका लागि ५३ करोड ६९ लाख बजेट विनियोजन भएको थियो । 
जिल्लाको तानसेन नगरपालिकाले ८२ प्रतिशत बढी रकम खर्च गरेको छ । पूँजीगत र चालुतर्फ गरी १ अर्व ५ करोड १४ लाख रकम तानसेनका लागि बजेट विनियोजन भएको थियो । यस्तै रैनादेवी छहरा गाउँपालिकाले ८२ प्रतिशत बढी रकम खर्च गरेको छ । रैनादेवी छहरामा गत आवमा चालु र पूँजीगत गरी ६५ करोड ८२ लाख रकम विनियोजन भएको थियो । यस्तै रिव्दीकोट गाउँपालिकाले गत आव २०८०/०८१ का लागि विनियोजन भएको कुल बजेट ५४ करोड ९४ लाख रहेको थियो । त्यसमध्ये रिव्दीकोटले ८१ प्रतिशत रकम खर्च गरेको छ । 
यस्तै रामपुर नगरपालिकाले पनि ८० प्रतिशत रकम खर्च गरेको छ । रामपुर नगरपालिकाका लागि गत आवमा ७३ करोड ९३ लाख बजेट विनियोजन भएको थियो । यस्तै निस्दी गाउँपालिका र माथागढी गाउँपालिकाले ७९ प्रतिशत रकम खर्च गरेका छन् । गत आवमा निस्दी गाउँपालिकामा ६९ करोड २० लाख बजेट विनियोजन भएको थियो भने माथागढी गाउँपालिकामा ६४ करोड ६२ लाख रकम विनियोजन भएको थियो । यस्तै रम्भा गाउँपालिकाका लागि गत आव २०८०/०८१ मा ५० करोड ९६ लाख वजेट विनियोजन भएकोमा ७६ प्रतिशत रकम खर्च भएको छ । पाल्पाका केही पालिकाले गत वर्षभन्दा बढी खर्चको भुक्तानी असार महिनामा मात्र रहेको छ । धेरै प्रतिशत रकम खर्च गर्ने स्थानीय तहले योजनाबद्ध रुपमा काम गरेका कारण अधिकांश योजना सम्पन्न भएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update